८ वैशाख २०८१ शनिबार
राजनीति

बुधवार यता सरकारका काम प्रभावित

काठमाडौं-  बुधबार यता सरकारका काम कारवाहि प्रभावित भएका छन्। ताप्लेजुङमा भएको एयर डाइन्यास्टिको हेलिकप्टर दुर्घटनामा परि संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सरकार, संसद, राष्ट्रियसभा लगाएतका काम कारवाहि प्रभावित भएका हुन्। ताप्लेजुङ दुर्घटनामा मन्त्री अधिकारी सहित सात जनाको निधन भएको थियो। यस्तै शनिबार राती पूर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भयो। लामो समयदेखि श्वासप्रश्वास सम्बन्धि समस्याका कारण थलिएका अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको हो।

बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चल्दै थियो। बैठकबीचमा नै मन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको समाचार आयो। गृह सचिव प्रेमकुमार राईलाई गृहमन्त्रालयबाट आएको फोनले दुर्घटनाको समाचार दिएको थियो। उक्त समयअघि विधेयकको दफा ४ मा रहेको व्यवस्थामाथि छलफल चल्दै थियो। राईले बैठकमै त्यो दुखद समाचार सुनाए।

बुधबार यताका ४ दिन सरकारको सबै काम प्रभावित भएको छ। आइतबार हुने भनिएको अर्थमन्त्रालयको बजेटमाथिको मध्यावधि समीक्षा बैठक पनि स्थगित भएको छ। यस्तै संसदीय समितिका सबै बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, महिला तथा सामाजिक, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक लेखा समितिको बैठक आइतबारलाई बोलाइएको थियो। राष्ट्रियसभाको बैठक पनि सूचना टाँसि मंगलबारसम्मलाई स्थगित गरिएको हो।

गत मंगलबारलाई प्रस्तावित मधेसी र थारु आयोगका अध्यक्षसँग छलफलको कार्यक्रम तय भएकोमा सुनुवाई समितिको कोरम नपुग्दा सुनुवाई हुन नसकि बिहिबारलार्ई सुनुवाई बोलाइएको थियो। बुधबार रवीन्द्र अधिकारी सहित सात जनाको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण बिहिबार सरकारले राष्ट्रिय बिदाको घोषणा गर्दा सुनुवाई हुन नसकेको संसदीय सुनुवाई समितिको सचिवालयले जानकारी दिएको छ। यस्तै आइतबारलाई तोकिएको सुनुवाई पनि पूर्व उप–प्रधान तथा अर्थमन्त्री अधिकारीको निधनका कारण मंगलबारसम्म स्थगित भएको सचिवालयले जानकारी दिएको छ।

यस्तै स्थगित भएको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक आइतबारलाई बोलाइएकोमा समितिको बैठक स्थगित गरि मंगलबारलाई बोलाइएको राज्य व्यवस्था समितिको सचिवायलयले जानकारी दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवर भने सरकारको काममा असर नपरेको बताउँछन्। ‘राष्ट्रिय बिदा र सार्वजनिक बिदा बाहेकका दिनमा सरकारको काममा खासै असर परेको छैन,’ कुँवर भन्छन्, ‘सरकारी कार्यालयहरू अन्य दिनमा जस्तै सुचारु रहेका छन्।’ बिहिबारको राष्ट्रिय बिदा र शनिबारको सार्वजनिक बिदा र सोमबार परेको शिवरात्रीको सार्वजनिक बिदालाई आधार मानेर सरकारको काम प्रभावित भएको भन्न नमिल्ने उनको तर्क छ।

प्रधानमन्त्रीले आइतबार विहान मन्त्री परिषदको आकस्मिक बैठक बोलाए पनि अधिकारीको अन्त्यष्टिमा राजकीय सम्मान दिने निर्णय गर्दै टुङ्गिएको थियो।

 

 

 

प्रकाशित: १९ फाल्गुन २०७५ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App