२० असार २०७७ शनिबार
राजनीति

‘मैथिली’ नेपालीपछिको उत्कृष्ट भाषा : देउवा

छ दिवसीय साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : नागरिक

जनकपुरधाम - नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मैथिली नेपालीपछिको उत्कृष्ट भाषा रहेको बताएका छन्। मैथिली विकास कोषले आयोजना गरेको छ दिवसीय ‘जनकपुर साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ लाई शनिबार उद्घाटन गर्दै देउवाले प्रचिनकालीन मिथिला संस्कृतिको पुनरुत्थानमा जोड दिनुपर्ने बताए। ‘नेपालमा नेपालीपछि सबैभन्दा बढी बोलिने मैथिली भाषा हरेक दृष्टिकोणले उत्कृष्ट हो,’ उनले भने, ‘प्राचिन मिथिलाका राजा जनकको शासनकालमा व्याप्त मैथिली भाषा, कला, साहित्य र संस्कृति पछिल्लो समय लोपोन्मुख अवस्थामा किन पुग्यो भन्नेबारे गहन सोध, अन्वेषणगरी पुनरुत्थान आवश्यक छ।’

कांग्रेस उपसभापति विमलेन्द्र निधिले मैथिली भाषालाई संघीय सरकारले वैकल्पिक (दोस्रो) कामकाजी भाषाको मान्यता दिनुपर्ने माग गरे। मैथिली भाषालाई सरकारी कामकाजको दोस्रो भाषाको रूपमा मान्यता दिलाउन विगतमा संघर्ष गरेको र यो कायम नभएसम्म संघर्ष तथा पहल जारी राख्नुपर्ने उनले बताए। ‘मैथिली साहित्य र संस्कृतिको सम्मान दुनियाँभरमा भइरहेको छ,’ उनले थपे, ‘नेपालमै दोस्रो सर्वाधिक बोलिने मैथिली भाषालाई सरकारी कामकाजको मान्यता दिन नसक्नु दुर्भाग्य हो।’

पूर्वउपप्रधानमन्त्री निधिले प्रदेश दुई सरकारको कामकाजको भाषा मैथिली र प्रदेशको नाम मिथिला–भोजपुरा तोक्नुको विकल्प नरहेको जिकिर गरे। ‘मिथिला भूमिमा पर्ने र मैथिली भाषीको बाहुल्यता रहेको प्रदेश २ ले मैथिली भाषालाई कामकाजको भाषा कायम नगर्दा मैथिली भाषा, साहित्य, कला र संस्कृतिको इतिहासको अपमान हुन्छ,’ उनले भने, ‘यस प्रदेशको पश्चिमी भागमा भोजपुरी समाजको समेत उपस्थिति रहेको हिसाबले प्रदेशको नामाकरणमा मिथिला र भोजपुरा शब्द उल्लेख हुनुपर्छ।’ प्रदेशको नाम मिथिला–भोजपुरा र कामकाजको भाषा मैथिलीबाहेक अन्य भए नेपाली कांग्रेसले स्वीकार गर्न नसक्ने उनले ठोकुवा गरे।

‘प्राचिन मिथिलाका राजा जनकको शासनकालमा व्याप्त मैथिली भाषा, कला, साहित्य र संस्कृति पछिल्लो समय लोपोन्मुख अवस्थामा किन पुग्यो भन्नेबारे गहन सोध, अन्वेषणगरी पुनरुत्थान आवश्यक छ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य घनश्याम भुसालले प्राचिनकालको गौरवपूर्ण इतिहास बोकेको मैथिली भाषा बीचमा कमजोर भए जस्तो देखिएको उल्लेख गर्दै पछिल्लो केही वर्षयता पुनर्जागरणको क्रममा अघि बढेको बताए। ‘मैथिली भाषा, साहित्य र संस्कृतिको गौरवपूर्ण इतिहास छ’ उनले भने, ‘यसको पुनर्जागरण आवश्यक थियो जसको प्रयास सुरु भएको देख्दैछु।’ मैथिली भाषाको विकासका लागि संविधान संशोधन गर्नुपरे पनि आफू यसका लागि पार्टीभित्र प्रभावकारी छलफल चलाउन तयार रहेको चर्चा गर्दै नेकपा नेता भुसालले यसका लागि मैथिली अभियानीलाई अग्रसर हुन आग्रह गरे।

संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादवले मैथिली भाषा सबैभन्दा सरल र लोकप्रिय भाषा भएको दावी गरे। नेपालमा मल्ल काल सुरु हुनु अगावैदेखि मैथिली भाषाको विकास सुरुवात भएको उल्लेख गर्दै यादवले भने, ‘आफ्नै लीपी र समृद्ध संस्कृति भएको मैथिली भाषा तथा समुदायको विकासलाई नेपालको शाह वंशीय शासकले एकल भाषा र संस्कृतिको नाउँमा ओझेलमा पारेको हो। तर, मुलुक संघीयतामा गइसकेको हुँदा अब मैथिली भाषाको पुनरुत्थान सहजै सम्भव देखिन्छ। यसका लागि सबैको पहल र अग्रसरता आवश्यक छ।’

राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले मैथिलीको पुनरुत्थानको लागि मैथिली समुदायभित्र हुने जातीय छुवाछुत तथा भेदभावको अन्त्य पहिलो आवश्यकता रहेको बताए। ‘हाम्रो समाजमा डोम (दलित) जातिको उपस्थितिबिना कुनै पनि पवित्र काम सम्पन्न हुँदैन’ उनले भने, ‘तर, एउटा डोमले छोएको पानी चल्दैन रे ! सबै जातजातिको सम्मान नभएसम्म मैथिलीको विकास सम्भव छैन।’

नेकपा नेता रामचन्द्र झाले मैथिली भाषा जातीय विभाजनको सिकार बनेको उल्लेख गरे। ‘मैथिली भाषा खास जातजातिका समुदायले मात्रै बोल्ने भाषा हो भनेर परिभाषित गरिँदैछ,’ उनले भने, ‘मैथिली भाषालाई कमजोर बनाउन यस्तो कुप्रचार गरिदैछ, जो गलत हो।’ ह्रश्व वर्णको बाहुल्यता रहेको मैथिली भाषा संसारकै सबैभन्दा कोमल भाषा भएको उल्लेख गर्दै झाले जातीय विभाजनको नाउँमा यो भाषालाई कमजोर पार्ने षडयन्त्र विरुद्ध एकजुट हुनु आवश्यक रहेको उनले बताए।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले पनि मैथिली भाषा कमजोर पार्न चौतर्फी षडयन्त्र भइरहेको चर्चा गरे। ‘मिथिला क्षेत्रमा बसोबास गर्ने सबै जातजाति र वर्गको भाषा हो मैथिली’ चौधरीले भने, ‘यहाँ भाषालाई जातिगत रुप दिएर कमजोर पार्न अनेक खेल भइरहेको छ। मैथिली भाषीहरुले नै आफुहरू मगही र अवधी भाषा बोलिरहेको जिकिर गर्नु उनीहरूको मूर्खता हो भने मैथिली विरोधी षडयन्त्र पनि।’ मगही भाषा नेपालमै प्रयोगमा नरहेको दाबी गर्दै चौधरीले मैथिली भाषा विरोधी अभियानलाई मत्थर पार्न जातीय एकतामा जोड दिनुपर्ने बताए।

फागुन २३ गतेसम्म चल्ने महोत्सवमा कथा गोष्ठी र कवि गोष्ठीसँगै नेपाल र भारतको मैथिली लेखनमा तात्विक भिन्नता, मिथिला समाजमा महिलाको सामाजिक, सांस्कृतिक भूमिका, समकालिन मैथिली रंगमञ्च, मिथिला चित्रकलामा सिर्जन र व्यवस्थापन, नेपालमा मैथिली लेखनको अवस्था र मैथिली फिल्मको सम्भावना विषयमा अन्तरक्रिया हुनेछ।

त्यस्तै, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामाकरण, प्रदेशको सांस्कृतिक परिचय र मिथिला, मैथिली भाषा उपर जातीय विभाजनको प्रभाव, मैथिली भाषा–साहित्य संरक्षणमा चुनौति र निदान तथा मातृभाषा, संस्कृति र युवा लगायत विषयमा विमर्ष गर्न सरोकारवाला पक्षलाई आमन्त्रण गरिएको छ। महोत्सवमा नेपाल, भारत, बंगलादेश र अफगानिस्तानका नाट्य टोलीहरुले आ–आफ्नो मुलुक र संस्कृति झल्किने नाटक समेत मञ्चन गर्ने आयोजकले जनाएको छ। महोत्सवमा मैथिली हस्तकला, चित्रकला र मिथिला भोजन प्रदर्शनीमा राखिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App