coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजसंस्थासहितको लोकतन्त्र चाहिन्छ : थापा

इटहरी - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश टुक्र्याउनुपर्छ भनेर आवाज उठाउने समूहलाई सरकारले केही गर्न नसकेको आरोप लगाएका छन्। देश टुक्र्याउने समूह सक्रिय हुँदा एकातिर राजनीतिक संकट निम्तिएको र अर्कातिर विदेशी चलखेल बढेको उनले बताए।

‘देश टुक्र्याउनुपर्छ भनेर आवाज उठाउने समूहले दिनप्रति दिन संगठन विस्तार गरिरहेको छ। सरकारले प्रभावकारी ढंगले काम गर्न सकिरहेको छैन्,’ अध्यक्ष थापाले राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन शुक्रबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा भने। उनले शान्ति प्रक्रिया टुंगियो भनिएको १२ वर्षपछि फेरि नयाँ माओवादी जन्मिएर आएकाले समस्या देखिएको बताए।

‘नयाँ माओवादीले एकै दिन २० वटा जिल्लामा विस्फोट गरायो। यसले गर्दा एकातिर राजनीतिक अवस्था संकटग्रस्त छ भने अर्कातिर विदेशीको चलखेल बढेर गएको छ,’ उनले भने, ‘धर्म निरपेक्षता, गणतन्त्र र संघीयता कार्यान्वयनबारे अब बहस गर्ने बेला आएको छ।’ उनले राप्रपाको माग पुरानो व्यवस्थामा फर्कने नभई सबै पक्षलाई मिलाएर लिएर जानेमा मध्यमार्गी बाटो खोजिनुपर्ने रहेको थापाले बताए। ‘हाम्रो पार्टीले हिजोको व्यवस्थामा फर्कनुपर्छ भनेको होइन, हामीलाई यो थाहा छ कि अहिले गणतन्त्रको पक्षमा धेरै जनसंख्या छ, धर्म निरपेक्षताको पक्षमा धेरै जनता छन्। संघीयताको पक्षमा पनि जनता छन्। यसकारणले सबै पक्षबीच सद्भाव हुनेगरी मध्यमार्गी बाटोबाट देशलाई अगाडि बढाउँदा राम्रो हुन्छ,’ उनले भने।

थापाले धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दु राष्ट्र पनि कायम गर्नुपर्ने र गणतन्त्र पक्षधरको लोकतन्त्रसहित चुनावी राजनीतिभन्दा माथि उठेको राजसंस्थासहितको लोकतन्त्र कायम गर्न सक्दा सवै नेपालीलाई मान्य हुने जिकिर गरे। ‘२०६२–०६३ को आन्दोलनपछि हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पारियो, राजसंस्थालाई पाखा लगायौं। संघीयता कार्यान्वयनमा ल्यायौं तर पनि आम जनताले परिवर्तनको अनूभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘जनताको जीवनस्तरमा सुधार पनि हुन सकेको छैन।’

थापाले लोकतन्त्रको आवारणमा लुटतन्त्र चलिरहेको आरोप लगाए। ‘स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचार पूरै व्यापक भएको छ। यसलाई शब्दमा वर्णन गर्न सकिँदैन,’ उनले भने, ‘चाहे एनसेलको कर छली काण्ड होस्, चाहे नेपाल वायु सेवा निगमको वाइडबडी खरिद काण्ड होस् वा ३८ किलो सुन काण्ड होस्। यस्ता थुप्रै भ्रष्टाचार देशमा भइरहेका छन।’ देशमा व्याप्त विकृति र विसंगति अन्त्य गर्न दबाब दिन राप्रपाले फागुन १५ देखि ताप्लेजुङ्बाट राष्ट्रिय स्वाभिमान यात्रा थालिएको हो। यो यात्रा फागुन ३० गतेसम्म चल्नेछ।

प्रकाशित: १८ फाल्गुन २०७५ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App