coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जन्मका आधारमा नागरिकता लिएका सन्तानले पनि राष्ट्रपति बन्न पाउने

काठमाडौं - संविधानसभाबाट नयाँ संविधान जारी हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानले पनि अब राष्ट्रपति र उपराष्ट्रपति बन्न पाउने भएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकले २०६५ साल मंसिर १० गतेभित्र निवेदन दिई संविधान जारीअघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्थामा सहमतिपछि उनीहरूलाई पनि राष्ट्रपति र उपराष्ट्रपति बन्ने बाटो खुलेको हो।

संविधानको व्यवस्थालाई अक्षरस पालना गरी जन्मको आधारमा नागरिकता लिने व्यक्तिका सन्तानले वंशजका नागरिकता प्राप्त गर्ने सहमतिपछि अब जन्मका आधारमा नागरिकता लिने व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार बन्न सक्ने बाटो सुरक्षित बनेको छ। नेपालको संविधानको धारा ११ को उपधारा ३ मा भएको व्यवस्थालाई आधार बनाउँदै समितिले संविधान प्रारम्भ हुनुअघि जन्मको आधारमा नेपालको नागरिकता लिने सन्तानका बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज वालिग भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ।

नेपाल नागरिकता ऐन २०६३ ले २०४६ साल चैत मसान्तसम्म नेपालको सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपाली नागरिक हुने व्यवस्था गरेको छ। ऐन प्रारम्भ भएको मितिले दुईवर्ष भित्र जन्मको आधारमा नागरिकता प्राप्तिका लागि निवेदन दिनसक्ने व्यवस्था गरेको थियो। यस व्यवस्था बमोजिम संविधान जारी अघि लाखौं मानिसले जन्मको आधारमा नागरिकता लिएका छन्।

नेपाल नागरिकता ऐन २०६३ ले २०४६ साल चैत मसान्तसम्म नेपालको सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपाली नागरिक हुने व्यवस्था गरेको छ।

अहिलेसम्म जन्मको आधारमा १ लाख ९० हजार ७ सय २६ जनाले नागरिकता लिएको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए। नेपालको कानुनले वंशजका आधारमा नेपाली नागरिक भएको व्यक्ति मात्र राष्ट्रपति र उपराष्ट्रपति हुने व्यवस्था गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ ले राष्ट्रपति र उपराष्ट्रपतिको योग्यताको विषयमा उल्लेख गरेको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन बंशनका आधारमा नेपाली नागरिक भएको, कम्तीमा पैतालिस बर्ष उमेर पुगेको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामवलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति राष्ट्रपति र उपराष्ट्रपतिको उमेदवार हुन योग्य हुनेछ। यसैगरी नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ सहमती जुटेको छ। बाबु विदेशी नागरिक भएको व्यक्तिले भने अंगीकृत नागरिकता प्राप्त गर्नेछ।

समितिमा सहमती भए बमोजिम वंशजमा नागरिकता लिएको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता खारेज हुनेछ। तर उनसले बाबुको नामबाट विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी स्वघोषणा गरेमा भने उसलाई अङ्गीकृत नागरिकतामा दिइने सहमति बनेको छ। यसैबीच, प्रतिनिधिसभाको बैठक शुक्रबार अपरान्ह् बोलाइएको छ। बिहीबार बोलाइएको बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको निधन भएका कारण स्थगित गरिएको छ। संसद् सचिवालयले एक सूचना प्रकाशित गरी मन्त्री अधिकारीसहित ७ जनाको निधनबाट सरकारले राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक स्थगित गरिएको जनाएको छ। वहालवाला मन्त्री प्रतिनिधिसभाको सदस्य भएकाले संसद्ले उनको निधनप्रति शोकप्रस्ताव पारित गर्ने गरी शुक्रबार अपराह्न ३ बजे बैठक बोलाएको छ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App