१५ चैत्र २०८० बिहीबार
राजनीति

नेविसंघको झडप : नेताहरूको आ–आफ्नै ‘डिफेन्स’

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरू आपसमा भिडेको घटनाले पार्टीभित्र प्रवेश पाएको छ। आतबार धर्नाका लागि पुगेका पार्टी कार्यालय सानेपा पुगेका दुई गुटका नेताहरू आपसमा झडप परेका थिए।

पार्टी संस्थापन समूहका सहमहामन्त्री डा.प्रकाशशरण महत निकट मानिएका ऋषिकेशजंग शाह र संस्थापनइतर समूहका नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरूले धर्नाका क्रममा झडप गरेका थिए। आफ्ना नेतालाई छेकेको बदला लिन पार्टी कार्यालयमा पुगेका शाह र केही अघिल्लो पटकभन्दा दलबलसहित पुगेका सिटौला निकट विद्यार्थीहरूको एकअर्काको दम्भका कारण झडप भएको थियो।

केही दिनअघि बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा.महतलाई सिटौला समूहका विद्यार्थी नेताहरूले अवरोध गरेको बदला लिन पुगेका शाह समूहका विद्यार्थी नेताहरूले सुरुमा मौन प्रदर्शन भनेका थिए। उनीहरूको ‘प्ले कार्ड’मा पनि अनुशासन कायम गर भन्ने उल्लेख थियो।

दुई समूहले प्रदर्शन गर्ने थाहा पाएपछि पार्टीले संस्थापन समूहका विद्यार्थी नेताका लागि खोलातर्फ र सिटौला समूहका लागि पार्टी कार्यालयको अगाडि स्थान तय गरिएको थियो। तर संस्थापन समूहका नेताहरू पनि पार्टी कार्यालयको अगाडि आएर प्रदर्शन गरे। त्यही क्रममा नेता सिटौला पार्टी कार्यालय आए र उनीहरूले विरोध गर्न खोजे। सिटौला समूहका विद्यार्थी नेताहरूले त्यही क्रममा शाह समूहका विद्यार्थीले बोकेको ब्यानर च्याते। त्यसकारण शान्तिपूर्ण भनिएको प्रदर्शन झडपमा परिणत भयो।

पार्टी कार्यालय अगाडि भएको ‘भाइ–भाइ’बीचको लडाईको साँची थिए, पार्टी कार्यालयमा रहेका नेताहरू। बैठकमा पुगेका नेताहरूले नेविसंघका नेताहरूको सबै ‘ताण्डप’ नजिकबाट नियाले। दिनभरको कसरतपछि बसेको केन्द्रीय समितिको बैठकमा पनि नेविसंघको विषयले प्रवेश पायो। अनौपचारिक छलफलमा पनि नेताहरूले नेविसंघको झगडा एकअर्काका कारण भएको भन्दै आरोपप्रत्यारोप गरिरहे। उनीहरूले एकअर्काको समूहका विद्यार्थी नेताहरूको डिफेन्स गरे।

पार्टी कार्यालय परिसर बाहिर भएको उक्त घटनालाई लिएर सभापति शेरबहादुर देउवाको कार्यकक्षमा आइतबार बसेको अनौपचारिक छलफलमा नेताहरू निकै आक्रोशित भएका थिए। संस्थापन समूहका नेताहरूले नेविसंघको आपसी झडपको छनविन गर्न माग गरेका थिए। पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू एनपी साउद, शंकर भण्डारी, मोहनबहादुर बस्नेतलगायतले घटनाको छानविन गरी कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका थिए। नेता बस्नेत भने निकै कडा रूपमा प्रस्तुत भएको स्रोतले बताएको छ।

‘उहाँ (सिटौला)हरूको समूहका विद्यार्थी नेताहरूले सधैँ विरोध गर्दा केही नहुने। अनि हाम्रा साथीहरू विरोध गरेर झडपै गर्ने’, बस्नेतले भने, ‘हामीले भिडियो हेरेका छौँ। भिडियो हेरेर कारवाही गर्नुपर्छ।’ बस्नेतले यति भनिसक्दा नसक्दै वरिष्ठ नेता रामचन्द्र पौडेल भने जोगिए। उनले सबै दोष नेता सिटौलातर्फ थोपर्न खोजे। ‘यसमा मेरो स्पष्ट कुरा छ। त्यहाँ मनोजमणीहरू थिएनन्। ती मेरा विद्यार्थीहरू हैनन्’, उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म त्यहाँ आएका विद्यार्थीलाई चिन्दा पनि चिन्दिनँ।’

औपचारिक बैठकमा भने नेविसंघको झडपको विषय नेता सिटौलाले प्रवेश गराएका थिए। उनले स्पष्ट रूट हुँदाहुँदै एकै ठाउँमा मिसिन आएका कारण यो घटनालाई गम्भीर रूपले लिनुपर्ने बताए। ‘नेविसंघ कहाँ जाँदैछ। विद्यार्थीहरू कुटाई खाएर अस्पताल जाने अवस्था आयो। यस घटनाप्रति म नेतृत्वको ध्यानकर्षण गराउन चाहन्छु’, सिटौलाले भने, ‘केन्द्रीय कार्यालय अगाडिनै यस्तो घटना भएको छ। यो दुखद् घटना हो। यो प्रवृत्तिलाई कसले प्रोत्साहन गरेको छ। छानविन गर्नुपर्छ।’

सभापति देउवाले भने आवश्यक छानविन गरी दोषीलाई कारवाही गर्ने बताए। उनले यो घटना दुखद् भएकाले आगामी दिनमा यस्तो घटना हुन नदिन सचेत हुनुपर्ने बताए। यस विषयलाई लिएर नेविसंघको राजनीतिक पृष्ठभूमिबाट आएका केही नेतासँग के गर्ने भन्ने विषयमा छलफलसमेत गरेका थिए। 

 

प्रकाशित: १३ फाल्गुन २०७५ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App