coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवा र  पौडेलबाट अब पार्टी चल्दैन :  मिनेन्द्र रिजाल

लण्डन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजालले पार्टी नेतृत्वमा नयाँ पुस्ता आउन जरुरी रहेको बताएका छन्। 

६९ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनस्थित फेलथाममा गरेको अन्तर्क्रिया कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले पुरानै पुस्ताका नेताहरुबाट अब पार्टीलाई गतिदिन कठीन रहेको भन्दै रिजालले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व लिनुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अथिति रिजालले सभापति शेरबहादुर देउवाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र नेता रामचन्द्र पौडेलले पनि सहज वातावरण तयार गरिदिनुपर्नेमा जोड दिए।

देउवा–पौडेललगायतका पुराना पुस्ताका नेताहरुमा अनुभव, ज्ञान र बुद्धि अथाह भएपनि ऊर्जा भने कम रहेको भन्दै त्यसको पूर्ति नयाँ पुस्तालेमात्रै गर्ने सक्ने उनको दाबी थियो।

‘मान्छे जति बूढो भयो उति बुद्धि बढु्छ तर ऊर्जा र तागत घट्दै जान्छ। शेरबहादुर देउवा र रामचन्द्र पौडेलमा अथाह अनुभव र बुद्धि छ तर उर्जा र तागत भने घट्दै गएको छ’ उनले भने, ‘ उहाँहरुको ऊर्जाले काँग्रेसलाई फेरि सबैभन्दा ठूलो पार्टी बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। नयाँ पुस्ताका मान्छेको नेतृत्व हुनुपर्छ।’ उनले कम्युनिष्टको पतन भएनै पनि काँग्रेस ठूलो बन्न नसक्ने भन्दै साच्चिकै काँग्रेस ठूलो बन्नका लागि गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको बताए।

विगतमा रामचन्द्र पौडेल समूहले देउवाको तीब्र आलोचना गर्ने गरेकोमा अहिले देउवा पनि आफ्ना आलोचकप्रति कडा रुपमा प्रस्तुत हुन थालेको प्रसंग कोट्याउँदै उनले भने, ‘तिखोसिङको कुरा पार्टीमा चल्न थालेको छ। केही नेताले सभापतिलाई निकै तिखे भन्नुहुन्थ्यो। अहिले सभापतिले पनि एक कदम अघि बढेर तिखे भन्नु भएको छ। यसरी पार्टी अघि बढ्छ जस्तो लागेको छैन।’ केही दिन पहिले वीरगन्ज पुगेर देउवाले काँग्रेस नेता शेखर कोइरालाको चर्को आलोचना गरेका थिए।

काँग्रेससँग अहिलेपनि ३६ प्रतिशत जनमत रहेको र विगतमा पनि त्यही हाराहारीकै मत रहेको पार्टी भएको पनि रिजालले बताए। ‘काँग्रेसकाने समर्थन घटेको छैन । अहिले कम्युनिष्ट मिलेरमात्रै चुनाव हारिएको हो’ उनको भनाई थियो।

सरकारको कार्यशैलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका रिजालले केपी ओली सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए।

‘सामाजिक सञ्जाल चलाउन पाइँदैन, सिधै थुन्ने कानुन ल्याउनु भएको छ। प्रजातन्त्रमा गाली सुनेर सत्ताले सच्निे मौका पाउँछ। तर गीतमा समेत बन्देज लगाउने काम भएको छ’ पूर्वसञ्चारमन्त्री समेत रहेका रिजालले भने, ‘अझ जनताले मन नपराएर पशुपति शर्मा गीत हटाउन बाध्य भएको भन्नुभएछ।’

राज्यकै दवावमा पशुपति शर्माले लुट कान्छा लुट बोलको गीत हटाएको उनको दाबी थियो। ‘राज्यनै लागिसकेपछि व्यत्तिले केही गर्न सक्दैन। तर त्यो गीतमा सरकारको मात्रै होइन हाम्रो पनि आलोचना थियो। तर उहाँहरु किन आत्तिनु भयो?’ रिजालको प्रश्न थियो।

 

प्रकाशित: १२ फाल्गुन २०७५ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App