coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एक वर्ष बाँकी छँदै महाधिवेशनको ज्वरो

काठमाडौं - महाधिवेशन आउन एक वर्ष छँदै सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालाई प्रतिस्पर्धी कै रूपमा उभ्याएपछि कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएको छ। बुधबार सभापति देउवाले नेता कोइरालाई कटाक्ष गर्दै भने, ‘थर कोइराला हुँदैमा नेतृत्वका लागि सक्षम हुँदैन।’

औद्योगिक नगरी वीरगञ्जमा पुगेर सभापति देउवाले महाअधिवेशनको प्रचार÷प्रसार शैलीमा शेखरको आलोचना गरेका थिए। उनले भने, ‘शेखरको पार्टीमा के योगदान छ?’ 

सभापतिले वीरगञ्जमा गरेको भाषणलाई लिएर यतिबेला कांग्रेसमा महाधिवेशनको ज्वरो सुरु भएको चर्चा हुन थालेको छ। कोइराला परिवार मध्येका डा.शेखर कोइरालामाथि सबैभन्दा बढी  देउवा खनिएका थिए।

विधानतः कांग्रेसको महाधिवेशन प्रत्येक चार वर्षमा गर्नुपर्ने हुन्छ। १३औँ महाधिवेशनबाट देउवा निर्वाचित भएको तीन वर्ष पूरा भएको छ। २०७६ फागुनभित्र १४औँ महाधिवेशन गर्नुपर्ने हुन्छ। तर पार्टीको विधानमै उल्लेख भएको व्यवस्थाअनुसार विशेष परिस्थितिमा थप एक वर्ष म्याद थप्न पाइनेछ।

पार्टी केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुनमा महाधिवेशन प्रस्ताव गर्र्दा सभापति देउवाले आफूसँग एक वर्ष थप गर्ने अधिकार भएको भन्दै प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए। केन्द्रीय समितिमा बहुमत रहेकाले पनि देउवाले यो सुविधा सजिलै प्रयोग गर्न सक्छन्।

डा.शेखरले भने सभापतिको आलोचनाप्रति टिप्पणी गर्न चाहेनन्। ‘म एउटा राजनीतिक परिवारबाट आएको हुँ। म राजनीतिक संस्कार बोकेको व्यक्ति हुँ’, डा.शेखरले नागरिकसँग भने, ‘हाम्रो आदरणीय सभापतिले के बोल्नुभयो त्यो मेरो सरोकारको विषय हैन। उहाँले बोलेको हो÷हैन, त्यो सभापतिजीलाई सोध्नुहोस्।’

सभापतिले वीरगञ्जमा गरेको भाषणलाई लिएर यतिबेला कांग्रेसमा महाधिवेशनको ज्वरो सुरु भएको चर्चा हुन थालेको छ। कोइराला परिवार मध्येका डा.शेखर कोइरालामाथि सबैभन्दा बढी  देउवा खनिएका थिए।

आगामी १४ औँ महाधिवेशनलाई ध्यानमा राखेर शेखरले देश दौडाहा थालिसकेका छन्। उनी सभापतिको आकांक्षी हुन्। संस्थापनइतर समूहलाई संयोजन गरेर सशक्त समूह बनाउनेमध्येका एक पनि हुन्, शेखर। उनी केन्द्रीय समितिमा रहेका कोइराला परिवारका तीन नेतामध्ये सबैभन्दा बढी सभापतिको आलोचना गर्ने नेता पनि हुन्। शेखरले पटकपटक सभापति देउवा विधानविपरीत चलेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

देश दौडाहाका क्रममा डा. शेखरले कार्यकर्तामाझ पार्टी नेतृत्वबारे जथाभावी बोलेको आरोप समेत पार्टी सभापति देउवाले लगाए। सभापति देउवाले नेतृत्वप्रति अनावश्यक आलोचना गर्ने शेखरलाई अनुशासनको कारबाही गर्ने चेतावनीसमेत दिएका थिए।

कांग्रेसमा कतिपयले शेखर आगामि महाधिवेशनमा सभापति देउवाको प्रतिस्पर्धी भएका कारण उनीमाथि खनिएको आरोप लगाउँदै आएका छन्। शेखर निकटका नेताहरू भने देउवा डराएकाले सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति दिएको तर्क गर्दै आएका छन्।

पछिल्लो समय कांग्रेसमा समूहगत रूपमा नेताहरू एकअर्काको आरोप प्रत्यारोपमा उत्रिएका छन्। नेताहरू एकअर्काको आलोचना सार्वजनिक रूपमा गर्दै आएका छन्। उनीहरूको आलोचना र अभिव्यक्ति महाधिवेशन लक्षित भएको कांग्रेसलाई नजिकबाट चिनेका राजनीतिक विश्लेषकहरूको तर्क छ।

महाधिवेशनमा एकअर्कालाई कमजोर देखाउन नेताहरू नीति र एजेण्डाभन्दा पनि व्यक्तिगत  आरोप प्रत्यारोपमा उत्रिएको विश्लेषकको आरोप छ। ‘पार्टीमा लिडरसिपको ‘भ्याकुम छ। एउटाले ओगटेर बसेका छन्। अर्कोले यीबाट चल्दैन भन्दैछन्’, राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नागरिकसँग भने, ‘नेतृत्वको संकट आएपछि एक वर्ष अगावै नेतृत्वमा जाने प्रतिस्पर्धा सुरु भएको छ। तर प्रतिस्पर्धा अस्वस्थ छ।’

 

प्रकाशित: १० फाल्गुन २०७५ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App