१५ चैत्र २०८० बिहीबार
राजनीति

कार्यदल भंग गरेको भन्दै नेपाल समूहका नेताको आपत्ति

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकीकरणका निम्ति सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग गर्ने सचिवालयको निर्णयप्रति माधव नेपाल समूहले आपत्ति जनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारको नेकपा सचिवालय बैठकले अहिलेसम्म गरेका कामका लागि धन्यवाद दिएको थियो। साथै कार्यदल भंग गर्ने निर्णय पनि गरेको थियो। कार्यदलको काम सचिवालय आफैंले गर्ने र त्यसलाई टुंग्याएर स्थायी समिति बैठकमा पेस गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो।

पुस ३ गते भएको स्थायी कमिटी बैठकले तल्लो र प्रदेश कमिटी गठनमा देखिएको विवादका विषयमा छलफल गरी प्रस्ताव पेस गर्न ९ सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, रघुवीर महासेठ थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहबाट सचिवालय सदस्य रामबहादुर थापा, वर्षमान पुन र लेखराज भट्ट थिए। त्यसैगरी नेपाल समूहबाट योगेश भट्टाराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल थिए। थापालाई संयोजकको जिम्मा दिइएको थियो।

सांगठनिक एकता विषयमा सहमतिमा पुग्न नसक्दा पटकपटक कार्यदलको म्याद थपिएको थियो। थपिएको उक्त समयमा पनि कार्यदलले सहमति जुटाउन सकेन। नेपाल समूहका नेताले भने कार्यदलमा काम गर्न नसकेको भन्दा पनि नदिएको आरोप लगाएका थिए। उनीहरुले कार्यदल भंग गर्ने सचिवालयको निर्णयप्रति आपत्तिसमेत जनाएका छन्। 

प्रकाशित: १० फाल्गुन २०७५ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App