१६ चैत्र २०८० शुक्रबार
राजनीति

दुई महिना पनि टिकेन देउवा–पौडेल ‘डिप लभ’

महासमिति बैठक समापनमा हातेमालो गर्दै नेताहरू । तस्बिर : रासस

काठमाडौं – दुई महिनाअघि नेपाली कांग्रेसको महासमिति बैठकबाट ‘डिप लभ’को घोषणा गरेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सम्बन्ध ‘ब्रेकअप’ अवस्थामा पुगेको छ।

गत पुस ८ गते साँझ महासमिति बैठक समापन गर्दै केन्द्रीय कार्यालय सानेपामा आफूहरूबीच ‘इमोसनल अट्याचमेन्ट’ रहेको भन्दै एकताको घोषणा गरेका सभापति देउवा र वरिष्ठ नेता पौडेल पछिल्लो समय टाढिँदै गएका छन्।

तर पछिल्लो समय देउवा र पौडेलबीच खटपट चुलिएको छ। पौडेलले गरेको प्रस्ताव देउवाले केन्द्रीय समिति बैठकमै अस्वीकार गरेपछि सुरु भएको मनमुटावले अहिले उग्र रूप लिएको छ।

महासमिति बैठकको सुरुमा उपसभापति विजयकुमार गच्छदारको आग्रह र अर्का उपसभापति विमलेन्द्र निधिको संयोजनमा ‘जबर्जस्ती हातेमालो’ गर्दै एक भएको सन्देश दिएका दुई नेताले महासमिति सकिँदै गर्दा आफूहरूबीच कुनै मतभेद नरहेको घोषणा गरेका थिए। ‘हामीले सँगै जेलनेल भोगेका छौँ। हामीबीच इमोसनल हट्याचमेन्ट छ। त्यसैले हामी एक छौँ’, महासमिति बैठक समापन गर्दै वरिष्ठ नेता पौडेलले भनेका थिए।

यस्तै, सभापति देउवाले पनि आफूहरूबीच ‘डिप लभ’ परेको बताएका थिए। ‘केटाकेटीले गर्ने डिप लभको कुरा उहाँले गर्नुभएको हो। मैले यो केटाकेटीको लभमा मात्र सुनेको हुँ। उहाँले भनेजस्तै हाम्रो पार्टीमा इमोसनल अट्याचमेन्ट छ र रहन्छ’, उनले भनेका थिए। विद्यार्थी कालदेखि नै सँगै राजनीतिमा प्रवेश गरेका देउवा–पौडेलबीच लामो समयदेखि यसरी नै मिलन र खटपट चल्दै आएको छ।

तर पछिल्लो समय देउवा र पौडेलबीच खटपट चुलिएको छ। पौडेलले गरेको प्रस्ताव देउवाले केन्द्रीय समिति बैठकमै अस्वीकार गरेपछि सुरु भएको मनमुटावले अहिले उग्र रूप लिएको छ। वरिष्ठ नेता पौडेलले एक महिनाअघि भएको केन्द्रीय समिति बैठकमा २०७६ फागुन ७ गतेका लागि पार्टीको महाधिवेशन मिति तय गर्न प्रस्ताव अघि सारेका थिए। तर उक्त प्रस्ताव देउवाले केन्द्रीय समिति बैठकमा ठाडै अस्वीकार गरिदिए। त्यसपछि सुरु देउवा–पौडेलको विवाद महासमिति बैठकमा भएको सहमति कार्यान्वयनका विषयमा आएर उग्र बनेको छ।

महासमिति बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि हुन पनि तल्लै तहबाट निर्वाचित भएर आउनुपर्ने र सभानुपातिकमा एकपटक अवसर पाएकालाई पटकपटक दोहो¥याउन नहुने प्रस्ताव राखेका थिए। यो प्रस्तावलाई केन्द्रीय समिति बैठकमा समावेश गर्ने देउवा र पौडेलले प्रतिबद्धता जनाएका थिए। तर केन्द्रीय समिति बैठकसम्म आइपुग्दा देउवाले प्रतिबद्धता भुलेको भन्दै पौडेल समूह रुष्ट छ।

दुई समूहबीचको रस्साकस्सीले एक महिना अघिदेखि केन्द्रीय समिति अनिर्णित बनेको छ। जिल्ला सभापतिहरूको प्रतिबद्धता कुनै पनि हालतमा कार्यान्वयन गर्नैपर्ने पौडेल समूहको अडान छ। पौडेलले बहुमतले निर्णय गर्नसमेत देउवालाई चुनौती दिइरहेका छन्।

‘महासमिति बैठकमा केन्द्रीय समिति बैठकबाट दुई विषयलाई समेट्छु भनेर प्रतिबद्धता जनाउनुभयो। अनि अहिले त्यही प्रतिबद्धतामा अडिन सक्नुहुन्न’, बुधबार भएको एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले भने, ‘त्यसो भए महासमितिमा किन प्रतिबद्धता गर्नुभयो? केन्द्रीय समितिमा तपाईंको बहुमत छ निर्णय गर्दा हुन्छ।’

वरिष्ठ नेता पौडेलले आफू जबर्जस्ती मात्र एकता गर्न पुगेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। ‘महासमितिको उद्घाटनमा विजयजी(गच्छदार)ले कर गरेर मात्र म उठेको हुँ। यसमा म भुक्तभोगी हुँ’, उनले भने, ‘एकता भएको घोषणा त गर्यौँ तर इस्यु र एजेन्डामा कुरै मिलेन।’ पौडेलको यो भनाइले नै देउवा र पौडेलबीचको तिक्तता प्रस्ट पार्छ। महासमिति बैठक सकिँदै गर्दा नै उनीहरूबीच देखावटी एकताका कारण अहिले मतभेदले अप्ठेरो पारेको राजनीतिक विश्लेषकको टिप्पणी छ। ‘उहाँहरू एक हुनुभएको थिएन। कार्यकर्ताको दबाबमा त्यो देखावटी मात्र थियो। इतिहास सम्झेर भावुक हिसाबमा मिलेको देखाएका थिए’, राजनीतिक विश्लेषक विष्णु सापकोटा भन्छन्, ‘उनीहरूबीच वास्तविक एकता थिएन, त्यसकारण टिकेन।’

महाधिवेशन नजिएकाले मात्र देउवा–पौडेल एक भएको देउवानिकट नेताकै टिप्पणी छ। ‘नेताहरूको मिलन महाधिवेशन लक्षित हो। उहाँहरू महाधिवेशन महसुस गर्दै मिल्नुभयो’, नेता मीन विश्वकर्मा भन्छन्, ‘एजेन्डामा लक्षित भएर एकता भएन त्यसकारण टिकेन।’

प्रकाशित: ८ फाल्गुन २०७५ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App