coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘आर्थिक विकास र सम्वृद्धिमा ध्यानदिउँ’

फाइल फाेटाे

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान मुलुकको आर्थिक विकास र सम्वृद्धितर्फ केन्द्रीत गर्न आग्रह गरेकी छिन्। तेस्रो निर्वाचन दिवसको अवसरमा मंगलबार निर्वाचन आयोगले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले सम्वृद्ध नेपाल सुखी नेपालीको अभियानमा अग्रसर हुन आग्रह गरेकी हुन्।

संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक स्थायित्वले आर्थिक विकास र सम्वृद्धिका लागि पर्याप्त सम्भावनाको ढोका खुलेको पनि उल्लेख गरेकी छिन्। त्यसलाई सदुपयोग गर्न दलहरुलाई आग्रह गर्दै भण्डारीले भनिन्, ‘तीनै तहको निर्वाचन भई स्थिर सरकार बनेकाले, सामाजिक आर्थिक रुपान्तरणको पर्याप्त संभावनाको ढोका खुलेको छ।’

राजनीतिक दलको साथ र सहकार्यको आवश्यकता औंल्याउँदै राष्ट्रपतिले भण्डारीले गत वर्ष भएको स्थानीय तह, प्रदेश र संघको निर्वाचनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र थप सुदृढ भएको उल्लेख गरिन्। निर्वाचनलाई अझै सरल र मतदातामैत्री बनाउँदै लैजान आयोगलाई सुझाउँदै उनले भनिन्, ‘आवधिक निर्वाचन लोकतन्त्रको जीवन हो। यसलाई अझ धेरै सहभागितामा स्वच्छ, निष्पक्ष र भयरहित बनाउनेतिर लाग्नुपर्छ।’

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तीनै तहको निर्वाचन समयमै सम्पन्न गरेर संविधानको कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याएको दाबी गरे। निर्वाचनलाई भइपरी आउने घटना जस्तो बनाउन नहुने धारणा राख्दै यादवले आवधिक निर्वाचनका लागि क्यालेन्डर नै बनाएर अघि बढ्नुपर्ने धारणा राखे। विदेशमा रहेका नेपालीलाई मतदानबाट वञ्चित हुन नपरोस् भनेर आयोगले अध्ययन गरी रहेको यादवले जानकारी दिए।

स्थानीय, प्रदेश र प्रतिनिधिसभाका गरी ९ सय ४१ पद रिक्त रहेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले भने, ‘रिक्त स्थानहरुमा आयोग उपनिर्वाचन गराउन तयार छ।’ आयोगले २०१५ सालमा भएको पहिलो आम निर्वाचनको मतदान सुरु भएको फागुन ७ गते लाई निर्वाचन दिवसका रुपमा मनाउँदै आएको छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App