७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टी एकीकरण १० दिनमा : थापा

दमक - नेपाल कम्युनिस्ट पार्टी सचिवालय सदस्य रामबहादुर थापाले पार्टी एकीकरणको काम १० दिनभित्र सकिने बताएका छन्। गृहमन्त्रीसमेत रहेका थापाले कार्यदलले फागुनको दोस्रो साताभित्र एकताको काम सक्ने बताए। ‘जनयुद्ध’ दिवसका अवसरमा नेकपा झापाले गरेको श्रद्धान्जली सभामा नेकपाले बनाएको पार्टी एकता कार्यदलका संयोजकसमेत रहेका थापाले केही प्राविधिक समस्या रहे पनि अब एकता नरोकिने बताए। ‘विगतमा दुई भिन्ने पार्टी रहेका थियाैँ, केही मतभेद थिए त्यसलाई समाधान गरिसक्यौं,’ उनले भने, केही प्राविधिक काम बाँकी छन्, अब एकता टुंगिन्छ।

थापाले दुई भिन्न विचार बोकेका पार्टीको एकता प्रक्रिया धेरै नजिक पुगिसकेको र कार्यदलले समेत अब केही दिनभित्रै काम सक्ने उल्लेख गरे। अहिलेसम्म एकता प्रक्रिया टुंगोमा पुग्न नसक्नु पार्टीका विभिन्न खाले विचार बाधक बनेको उनको दाबी थियो। ‘एकताको प्रक्रिया अब प्रदेशसम्म आइसकेको छ, अब बिस्तारै जिल्लासम्म आउँछ,’ उनले कार्यकर्तालाई आश्वास्त पार्दै भने, ‘ढुक्क हुनुहोस्, फागुन दोस्रो साता सम्ममा सकिन्छ।’ थापाले पार्टी एकताका सन्दर्भमा बहस र छलफल भने चलाउन नसकेको स्वीकार गरे। हामीले पार्टी एकताका सवालमा विचारको बहस गराउन सकेनाैँ, उनले स्वीकारे, त्यसकारणले पनि विचारमा भिन्नता देखिएला भन्ने लागेको हुन सक्छ, तर अब पार्टी एक भइसक्यो, त्यस्ता कुराले स्थान पाउने छैनन्।

कार्यक्रममा नेकपाका नेता राम कार्कीले पार्टी एकता टुंगोमा नलागे नेतृत्व र कार्यकर्ताबीच झडप हुने बताए। उनले पार्टी एकताले गति लिन नसकेको उल्लेखसमेत गरे। गृहमन्त्री थापालाई उनले भने, ‘तपाईंले नै लड्न सिकाउनु भयो, त्यहीँ सिके, अब एकता रोकिए कार्यकर्ता लड्न आउनेछन्।’ कार्कीले निहुँ निकालेर एकताको काम रोक्न नहुने सुझावसमेत दिए। नेकपाको विकल्प नभएकाले पनि कार्यकर्ता कतै जाँदैनन् भनेर पार्टी नेतृत्वलाई दम्भ पलाएको हुनसक्ने आशंका कार्कीले गरे। उनले भने, ‘तर समय बलवान छ, समयले विकल्प खोज्न सक्छ, बेलैमा होस पुर्‍याउनु होला।’ दमकमा गृहमन्त्री थापाले पार्टी एकताको कामले दिशा लिएको बताएका थिए। उनले ढिला गरिए थप जटिलता आउने भनेर तत्काल काम टुंगोमा पुर्‍याउने उल्लेख समेत गरे।

यसैबीच, प्रहरीको सर्टगन पड्कदा झापमा पत्रकार सुनिरा मैनालीलाई खुट्टामा छर्रा लागेको छ। लक्ष्मीपुर चोक नजिकै सडकको गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्केको थियो। जवान शेर्पा भन्दा ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको थियो। छर्रा लागेपछि लडेकी मैनालीलाई बी एण्डसी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले छर्राले लागेको नलागेको यकिन नभएको बताए। उनले सर्टगनै पड्किएपनि छर्रा टाढासम्म जानु नपर्ने उल्लेख गरे। प्रहरीले थप अनुसन्धानका लागि शेर्पालाई इलाका प्रहरी कार्यालय बिर्तामोड झिकाएको छ।

प्रकाशित: २ फाल्गुन २०७५ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App