१६ चैत्र २०८० शुक्रबार
राजनीति

मधेसको नागरिकता समस्या सधैंलाई अन्त्य हुन्छ : अध्यक्ष दाहाल

महनौर (सिरहा) - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मधेसको नागरिकता समस्या सदाका लागि अन्त्य हुने बताएका छन्। ‘नागरिकता विधेयक संसद्मा पेश भएर समितिमा छलफलको क्रममा छ’, मंगलबार सिरहाको अर्नमा गाउँपालिका –१ महनौरमा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै दहालले भने,‘जसरी विगतमा मधेसको समस्या नागरिकता थियो, अब समाधान हुन्छ।’

मधेसी जनताको हकहित र अधिकारका पक्षमा आफूले निरन्तर पहलकदमी लिँदै आएको उनले प्रस्ट पारे। भने, ‘संविधानलाई मधेसी जनताको आवश्यकताअनुसार संशोधन, परिमार्जन गर्दै जाने भनेर मैले, प्रधानमन्त्री केपी ओलीजीले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं,’ उनले भने। मधेसको विकास निर्माणमा नेकपा नेतृतवको सरकारको ध्यान कम भएको भन्ने शंका नगर्न उनको आग्रह थियो। उनले मधेसको विकास गरेर मात्रै मधेसी जनताको माग सम्बोधन गर्न सकिने बताए।

‘मधेसमा पूर्वाधार विकासका लागि दुई अर्ब रुपैयाँको विशेष प्याकेज सरकारले ल्याएको छ,’ उनले भने। सिँचाइ र खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न ऊर्जा तथा सिँचाइ र खानेपानी मन्त्रालयमार्फत प्रदेश २ को आठ वटै जिल्लाका लागि प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। ‘भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टर सहितको आवश्यक व्यवस्था होस् भनेर सरकारसँग तत्काल माग राख्छु’,दहालले भने।

'सिराहा जिल्ला आँप र धान उत्पादनमा देशमै अब्बल जिल्ला हो। सिरहालाई आँप र धानकोे जोनको रुपमा विकास गर्न पहल गर्नेछु, उनले भने।’ धानखेतीमा उर्वर यस जिल्लालाई धानको सुपरजोनको रुपमा विकास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

‘अहिलेको संविधानले शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको छ’, दहालले थपे, ‘अब आर्थिक अभावमा उपचार नपाएर कोही मर्नु पर्दै। गरिबको उपचार सरकारले गर्छ। नगरे अदालतमा सरकारमाथि मुद्दा दिन पाइन्छ, सरकारमाथि मुद्दा लाग्छ।’ पूर्वाधार विकास, उत्पादन वृद्धि, व्यापार घाटाको सन्तुलन मिलाउने, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा सरकार लागिपरेको उनले बताए। हेलिकप्टर चढेर बिहान साढे १० बजे महनौरमा आएका दाहाल करिब तीन घण्टा यस ठाउँमा बिताएर पुनः हेलिकप्टर चढी मिर्चैया पुगेका थिए। सिरहाको मिर्चैयामा दहालले मिर्चैया महोत्सव पनि उद्घाटन गरेका छन्।

प्रकाशित: २८ माघ २०७५ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App