८ वैशाख २०८१ शनिबार
राजनीति

इपिजीको प्रतिवेदन भारतले बुझ्छ, कार्यान्वयनमा जान्छ : राजदूत आचार्य

काठमाडौं– भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन्। 

शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित विशेष साक्षात्कारमा उनले इपिजीको प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि भएको तर्क गरे। इपिजीले तोकिएकै समय सीमाभित्र प्रतिवेदन तयार पारेको उनको भनाई छ। 

आचार्यले ६ महिना बितिसक्यो तर समयमै प्रतिवेदन बुझाउन सकिएन भनेर भन्नु भन्दापनि केही समय धैर्यता गर्नुपर्ने सुझाए। उनले भने, ‘प्रतिवेदन बुझ्दैनन् । बुझ्न सकिँदैन भनेर शंकै शंकामा पर्ने हो भने त्यसको उपाय निस्कँदैन्। केही अप्ठ्याराहरुलाई हामीले बुझिदिएर धैर्य साथ काम गर्नुपर्छ। बुझ्दैनौं त भनेको छैन नि। अध्ययन गर्दै, हेर्दै होलान्। उपयुक्त वातावरणमा र उपयुक्त समयको पर्खाइमा होलान्।’

यद्यपी उनले ईपिजीको प्रतिवेदन दुवै देशको सरकारसमक्ष पेश भैसकेपछि अनि सरकारले यसलाई अध्यन गर्ने वा कार्यान्वयन गर्ने वा जे गर्ने हो सरकारले गर्ने तर्क गरे। 

भारतसँगको नेपालको व्यापार घाटा घट्नको निम्ति भारतबाट नेपालमा संयुक्त आयोजनाहरुमा लगानी गरेर उत्पादन बढाउनुपर्ने उनको धारणा छ। उनले भने, ‘उत्पादन बढाएर हाम्रा वस्तुहरु त्यहाँ निर्यात गर्नुपर्छ। अहिलेकै समयमा पनि सीमामा के कति अप्ठ्यारा छन्? धेरैजसो क्वारेन्टाइनको समस्या छन्। धेरैजसोले अन्य झन्झटहरु छन् भन्छन्। के कति अप्ठयारा छन्, तीनलाई हल गर्नुपर्छ।’

त्यस्तै नेपालले पर्यटनको विकास गर्नुपर्ने उनको भनाई छ। उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि नेपाल र भारतबीच आदान–प्रदान हुनसक्ने सुझाए। 

आफू भारतसँगको मित्रता बलियो पार्न र दुई देशबीचको सम्बन्धमा केही दुरी छ भने त्यसलाई कम गर्नको लागि केन्द्रित हुने उनको विश्वास छ। 

भारतले नेपालको विकासमा साझेदारको रुपमा धेरै सहयोग गरेको भन्दै उनले प्रशंसा गरे। उनले भारत होस वा नेपाल होस् बोलेको र भनेको कुरा पूरा गर्नुपर्ने पनि बताए। दुई देशबीच केही समस्या भए वार्ता तथा सम्वादमार्फत केही अप्ठयाराहरु भए हटाउन पहल गर्नुपर्ने उनको भनाई छ। 

आचार्यले नेपाल र भारत दुई देशबीचको व्यापार घाटा कसरी कम गर्ने र नेपालमा लगानी कसरी बढाउन सकिन्छ? भन्नेबारे अहिले प्रयास भैरहेको सुनाए। 

प्रकाशित: २५ माघ २०७५ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App