७ वैशाख २०८१ शुक्रबार
राजनीति

एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने : अध्यक्ष दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक - नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताएका छन्। कुबिण्डेस्थित सेतीदेवी पञ्कन्या माविको ४२ औँ वार्षिकोत्सवको बुधबार उद्घाटन गर्दै उनले एकता प्रक्रिया टुंगोमा पुर्‍याउन आफू र नेतृत्व गम्भीर रहेको बताए।

‘पार्टी एकता कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशन दिएका छौँ,’ अध्यक्ष दाहालले भने, ‘प्रतिवेदन प्राप्त भएपछि एकतालाई अन्तिम रुप दिन प्रक्रिया अघि बढाउँछौँ।’ जनवर्गीय संगठनको समेत एकता प्रक्रिया एकसाथ अघि बढ्ने उनले जनाए। कार्यकर्तामाझ एकताको सन्देश फैलाउन फागुन र चैतभित्र देशव्यापी एकता अभियान सञ्चालन गर्ने तयारी समेत पार्टीले गरिरहेको उनले जानकारी दिए।

अध्यक्ष दाहालले बितेको एक वर्षमा बर्तमान सरकारले धेरै काम गरेको दाबी गरे। ‘बाहिर नदेखिए पनि भित्र धेरै काम भएका छन्,’ सरकारको प्रशंसा गर्दै उनले थपे, ‘यसबीचमा भारत र चीनसँग रहेका समस्या सरकारले सल्टाएको छ।’ निजी शैक्षिक क्षेत्रलाई नियमनद्वारा विस्तारै नियन्त्रण गरेर सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार्न कम्युनिष्ट सरकार अघि बढिरहेको उनको भनाइ थियो।

आलु र दूधको पकेट क्षेत्रको रुपमा चर्चित कुबिण्डेमा कृषि विज्ञान कलेज स्थापना गर्न आफूले विशेष पहलकदमी लिने आश्वासन दाहालले दिए। उनले ‘जनयुद्ध’का सहिद तथा बेपत्ताका परिवारलाई विद्यालयका तर्फबाट सम्मानसमेत गरे। दश वर्षे युद्धमा तत्कालीन कुबिण्डे गाविसबाट मात्रै बिद्रोहमा लागेर २४ जनाले ज्यान गुमाएका थिए भने अझै एक जना बेपत्ता छन्। उनीहरुमध्ये अधिकांश यसै विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी थिए।

प्रकाशित: २३ माघ २०७५ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App