८ वैशाख २०८१ शनिबार
राजनीति

धर्मका लागि जनमत संग्रह गर्न राष्ट्रपति भण्डारीसँग माग

देवघाटधाम विराट ज्ञान महायज्ञ २०७५ समुद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः सविता/नागरिक

चितवन – देवघाटधाम विराट ज्ञान महायज्ञ २०७५ समुद्घाटन गर्न देवघाट धाम आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग धर्मका लागि जनमत संग्रह गर्न माग गरिएको छ। महायज्ञको समुद्घाटन समारोहमा आफ्नो भनाई राख्दै गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरीले धर्मको नाममा जनमत संग्रह गरिनुपर्ने बताए।

हिन्दु राष्ट्र रहेको नेपाललाई एकाएक धर्म निरपेक्ष बनाइएकाले नेपाली जनताको चाहना बुझ्नको लागि जनमत संग्रह गर्नुपर्ने उनले बताए। उनले भने, ‘चाहे धर्म निरपेक्ष होस् या हिन्दु धर्मको राष्ट्र होस्, ‘जनमत संग्रह एक पटक हुनुपर्छ।’

सबैभन्दा बढी हिन्दु धर्ममा आस्थावान नागरिक नेपालमा बस्ने बताउँदै यसबारेमा सोचिनुपर्ने उनले बताए। धर्म र संस्कृतिको रक्षा गर्नु नेताको समेत कर्तव्य भएको उनी बताउँछन्। कार्यक्रममा हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वतीले वैदिक धर्मको रुपमा रहेको हिन्दु धर्ममा रहेका साधु, सन्त, महात्म, प्राज्ञलाई नसोधी एकाएक धर्म निरपेक्ष बनाइदाँ दुःखीत भएको बताए।

धर्मले नै मानिसलाई अनुशासीत बनाउने भन्दै उनले धर्म निरपेक्ष घोषणा गरिएको निर्णयलाई सच्याउन समेत आग्रह गरे। ‘वैदिक धर्म राष्ट्रको विकासको बाधक होइन, साधक हो,’ उनी भन्छन्, ‘पुरानो धर्म वैदिक धर्मले मानिसलाई अनुशासीत बनाएको छ।’

महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसरमा महायज्ञ आयोजना गरिएको हो। महायज्ञसँगै राष्ट्रपति भण्डारीले महेश संस्कृत गुरुकुलको ४२ कोठा भएको चार तले शिक्षण भवन पनि उद्घाटन गरेकी छिन्। महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २२ माघ २०७५ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App