८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णाली–रारा पर्यटन वर्ष, उद्घाटन कार्यक्रममै अनियमितता

उपसमितिको प्रतिवेदन बुझ्दै लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठ। नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत- कर्णाली प्रदेश सरकारले बैशाख १ गते घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन कार्यक्रममा अनियमितता भएको पाइएको छ। सार्वजनिक लेखा समिति अन्र्तगतको उपसमितिले गरेको छानविनका क्रममा लाखौं रुपियाँ अनियमितता भएको पाइएको हो। प्रदेश सरकारले संसदलाई एउटा र समितिलाई अर्को खर्च विवरण उपलब्ध गराएपछि अनियमितताको आशंकामा छानविनका लागि लेखा समितिले कार्तिक १६ गते तीन सदस्यीय उपसमिति गठन गरेको थियो।

उपसमितिले तीन महिना लगाएर तयार पारेको प्रतिवेदनमा सरकारले पर्यटन वर्ष उद्घाटन कार्यक्रममा लाखौंको अनियमितता गरेको उल्लेख छ। ‘सरकारसँग हामीले तीन पटक पर्यटन वर्ष उद्घाटनको खर्च विवरण माग्यौं, तीनै पटक फरक–फरक विवरणहरु प्राप्त भए’ उपसमितिका संयोजक करवीर शाहीले भने, ‘उद्घाटनका लागि ४६ लाख बजेट पूर्वानुमान गरेर ८७ लाख १४ हजार छ सय रुपियाँ खर्च गरेको पाइयो।’

उपसमितिले प्रदेश सरकारले निम्त्याएका पाहुनाहरुको खाना खर्चमा सबैभन्दा धेरै अनियमितता भएको औल्याएको छ। उद्घाटन कार्यक्रममा प्रदेश सरकारले आमन्त्रण गरेका मध्ये एक सय जना पाहुना रारा पुगेका थिए। ति मध्ये प्रधामन्त्री केपी शर्मा ओलीसहित २४ जना विशिष्ट पाहुनाहरुलाई नेपाली सेनाको टुहु ब्यारेकमा राखिएको थियो। ‘प्रदेश सरकारले उपलब्ध गराएको विल–भर्पाइलाई आधार मान्ने हो भने बाँकी ७६ जना पाहुनाले ४४ छाक खाना खाएको देखिन्छ’ उपसमितिका सदस्य गोपाल शर्माले भने, ‘हामीले मागेका कतिपय विल–भपाईहरु पनि सरकारले उपलब्ध गराउन सकेन।’

पर्यटन वर्षका लागि १० वटै जिल्लाका लागि छुट्याइएको रकम पनि सरकारले एउटै उद्घाटन कार्यक्रममा खर्च गरेको उनले बताए। ‘यहाँसम्मकी नदी नियन्त्रणका लागि भू–तथा जलाधार कार्यक्रममा छुट्याइएको नौ लाख रुपियाँ पनि रकमान्तर गरेर पर्यटन वर्ष उद्घाटनमा खर्च गरिएको देखिन्छ’ उनले भने।

सरकारले संसद र समितिलाई पनि छुट्टाछुट्टै विवरण उपलब्ध गराएको छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले समितिलाई उपलब्ध गराएको तथ्याङ्कमा उद्घाटन कार्यक्रममा ७८ लाख १६ हजार ९६ रुपियाँ खर्च भएको उल्लेख छ। गत जेठ २५ गते सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा ६३ लाख ८१ हजार सात सय ९५ रुपियाँ खर्च भएको विवरण पेश गरेका थिए। ‘एउटै कार्यक्रमको छुट्टाछुट्टै खर्च विवरण पेश हुनुले पनि कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा आर्थिक अनियमितता भएको पुष्टी हुन्छ’ समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले भने, ‘उपसमितिले बुझाएको प्रतिवेदन अध्ययन गरेर थप प्रक्रियामा जान्छौं।’

पर्यटन मन्त्रालयले समितिलाई बुझाएको विवरणमा भौतिक पूर्वाधार मन्त्रालयमार्फत १० लाख ९३ हजार ३६०, सामाजिक विकास मन्त्रालयमार्फत १० लाख ११ हजार ४२८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयतर्फत २८ लाख ८५ हजार ८१०, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत चार लाख ६२ हजार ४६८, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत १६ लाख ५८ हजार ५४, मुगु जिल्ला समन्वय समितिमार्फत सात लाख भन्दाबढी रुपियाँ खर्च भएको उल्लेख छ।

प्रदेश सरकारले जेठ २५ गते कर्णाली प्रदेश सांसदमा ६३ लाख ८१ हजार सात सय ९५ रुपियाँ खर्च भएको विवरण पेश गरेको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली–रारा पर्यटन पर्व घोषणा कार्यक्रममा व्यापक भ्रष्टाचार भएको बताउँदै खर्च विवरण उपलब्ध गराउन माग गर्दै संसद अवरुद्ध गरेपछि प्रदेश सरकारले यो विवरण पेश गरेको थियो। सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको खर्च विवरण अनुसार अतिथिको खाना र खाजातर्फ १७ लाख ४६ हजार १२० रुपियाँ, पत्रकारको स्थलगत खर्च, मञ्च व्यवस्थापन, व्यानर, गेट, ब्याच र सांस्कृतिक कार्यक्रमका लागि ११ लाख ५० हजार २०० रुपियाँ, हवाई भाडातर्फ १० लाख २९ हजार ३०६ रुपियाँ र स्थलगत यातायाततर्फ ७६ हजार रुपियाँ खर्च भएको विवरण संसदमा प्रस्तुत गरेका थिए।

यस्तै पत्रकारका लागि सुर्खेतदेखि रारा र रारादेखि सुर्खेतसम्म आउँदा खानावापत ६४ हजार ९७०, अतिथिका लागि उपहारतर्फ पाँच लाख ५४ हजार, पर्यटन वर्ष प्रचार–प्रसारका लागि टेलिभिजन जिंगलमा चार लाख १२ हजार, रेडियोका लागि दुई लाख ५८ हजार, पोष्टरलगायतका अन्य सामाग्रीका लागि दुई लाख र स्थानीय तयारीका लागि दुई लाख रुपियाँ खर्च भएको विवरण सरकारले संसदमा प्रस्तुत गरेको थियो। पाँच लाख पर्यटन कर्णालीमा भित्र्याउने महत्वाकांक्षी योजनासहित कर्णाली प्रदेश सरकारले पर्यटन वर्ष उद्घाटनका लागि भन्दै मन्त्रिपरिषद्बाट ४६ लाख रुपियाँ छुट्याएको थियो।

 

 

प्रकाशित: १८ माघ २०७५ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App