८ वैशाख २०८१ शनिबार
राजनीति

मुख्यमन्त्रीको गाडीमा ‘माफिया सरकार’ लेखेको आरोपमा १३ विद्यार्थी पक्राउ

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा ‘माफिया सरकार’ लेखेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

शुक्रबार बिहान नेविसंघले मध्यपश्चिमाञ्चल विश्वविद्यालय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने तयारी गरिरहेका बेला केन्द्रीय सदस्य हरि शर्मासहित १३ जना विद्यार्थी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार अर्का केन्द्रीय सदस्य अनिल शाही, जिल्ला अध्यक्ष गौतम विसी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववियू सभापति झक्कु शाही, रोशन बस्नेत, रामचन्द्र भण्डारी, विवेक खड्का, न्यूटन वली, पिताम्वर ढकाल, ऋतु रिजाल, सुरेन्द्र जैसी, सुरेन्द्र काफ्ले र गोविन्द सिजापतिलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

बिहीबार विश्वविद्यालयको एक कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री शाहीको गाडीमा नेविसंघका कार्यकर्ताले ‘माफिया सरकार मुर्दावाद’ लेखेको थियो। मुख्यमन्त्रीको गाडीमा माफिया सरकार लेखेको भन्दै सरकारका प्रवक्ता एवम् भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले घटनामा संलग्नहरुलाई खोजेर कारवाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेकी थिइन्।

प्रकाशित: १८ माघ २०७५ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App