१५ चैत्र २०८० बिहीबार
राजनीति

‘आरक्षणले क्षमता विकासमा अवरोध गर्छ’

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आरक्षणले क्षमता विकासमा अवरोध पुर्‍याउने दाबी गरेका छन्। बिहीबार चितवनमा सुरु भएको महिला पत्रकारको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘महिला सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रूपमा संविधानले सबै क्षेत्रमा आरक्षण व्यवस्था गरे पनि त्यसलाई प्राप्त गर्नेतिर मात्र केन्द्रित नभई आफ्नो व्यक्तित्व विकास र महत्वपूर्ण स्थान प्राप्तिमा आफूलाई योग्य बनाउनेतर्फ ध्यान केन्द्रित गर्नु जरुरी रहेको उनले भनाइ थियो।

संविधानद्वारा स्थापित मूल्य–मान्यता र मर्मलाई व्यवहारमा उतार्नुपर्ने आवश्यक औंल्याउँदै अध्यक्षले महिला पत्रकारको जिम्मेवारी बढी संवेदनशील र महत्वपूर्ण रहेको स्पष्ट पारे। ‘हिजो राज्यले गरेको अन्यायको भर्पाईका रूपमा, क्षतिपूर्तिका रूपमा समानुपातिकता र समावेशिताको कुरा जायज छ,’ उनले भने, ‘तर विभेदमा परेको वर्ग समुदायले आफूलाई योग्य बनाउन मेहनत गरेन भने यो व्यवस्थाले मात्र धेरै अगाडि लैजान सक्दैन।’ हरेक क्षेत्रका महिलाको सशक्तीकरण गर्ने र कानुनले प्रदान गरेका अधिकार कार्यान्वयन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले भने, ‘सबैको प्रयासपछि संविधानमा प्रेस स्वतन्त्रता, अधिकार र पत्रकार महिलाबारे सशक्तीकरण र विकासलाई स्थापित गरेको छ।’

नेपाल पत्रकार महासंघको महिला विभागले आयोजना गरेको सम्मेलनमा देशभरका दुई सयभन्दा बढी पत्रकार महिलाको सहभागिता रहेको छ। पत्रकार महासंघको जिल्ला तथा प्रदेश समितिमा रहेका उपाध्यक्ष, केन्द्रीय सदस्य, एसोसिएट र प्रतिष्ठान शाखाका उपाध्यक्ष, केन्द्रीय समितिका सदस्य र अग्रज पत्रकार महिला सम्मेलनमा सहभागी छन्। सम्मेलनमा वर्तमान अवस्था, समस्या र समाधानका विषयमा छलफल गरेर निष्कर्ष निकालिने बताइएको छ। सम्मेलनले महिलाका समस्या पहिचान र समाधानका लागि विशेष सुझावसहितको घोषणा पत्र तयार पारेछ। शुक्रबार सार्वजनिक गरिने घोषणापत्र फागुनको ९ र १० गते पोखरामा हुने पत्रकार महासंघको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिनेछ। कार्यक्रममा पत्रकार महासंघको केन्द्रिय समितिमा सहभागी भएर काम गरेका १९ जना पत्रकार महिलालाई सम्मान गरिएको छ।

प्रकाशित: १८ माघ २०७५ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App