१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘आफ्नो रूप हेरीहेरी प्रधानमन्त्री आफैं दंग’

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अाफ्नाे धारणा राख्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल। दिनेश गाेले/नागरिक

काठमाडौं - प्रतिनिधिसभाको बिहीबारको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ। प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि बसेको यो बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तापक्ष र प्रतिपक्ष एकठाउँमा बस्ने वातावरण नबनेसम्म बैठकको कारबाही अघि बढ्न सक्दैन भन्दै संसद् अवरुद्ध गरेको हो। दिउँसो १ बजे बोलाइएको बैठक कांग्रेसको अवरोधपछि साढे १ बजे स्थगित भएको हो।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो भनाइ राख्ने क्रममा सरकारलाई व्यग्य गर्दै ‘झलझली आँखामा’ एल्वममा उषा मंगेशकरले गाएको, जयदेवले संगीत भरेको र प्रदीप रिमालले लेखेको ‘नयाँ नयाँ जवानी छ, नयाँ नयाँ रंग’ गीत गाउँदै भने, ‘प्रधानमन्त्रीज्यू आफ्नो अनुहार आफंै हेर्दै दंग हुनुहुन्छ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार दंग पर्दै अधिनायकवादतर्फ हिँडेको आरोप लगाए। उनले भने, ‘यो बाटोबाट देश चल्दैन, यो लोकतन्त्रको बाटो होइन,’ उनले थपे अध्ययन गरांै, आफ्नो रूप हेर्नेहरू अन्ततः अधिनायकवाद लिएर आएका छन्, अधिनायकवादी बाटोमा हामी सरकारलाई हिँड्न दिँदैनौ।’ सरकारको आलोचना गर्ने क्रममा उनले अंग्रेजी लेखक ‘जर्ज अरवेल’को सन् १९४८ मा लेखेको एउटा किताबबारेमा चर्चा गरेका थिए। उनले भने, ‘भविष्य कस्तो होला भन्ने चिन्ताबाट लेखिएको किताब थियो त्यो, जर्ज अरबेलले ४८ इञ्च उल्टाएर ८४ राख्ने निर्णय गरे र त्यो किताबको नाम ‘१९८४’ राखियो।’

त्यसमा उनले लेख्छन् त्यहाँ एउटा ‘मिनिस्ट्री’ हुन्छ, झुटबाहेक केही नबोल्ने, प्रोपोगान्डाबाहेक केही हुँदैन भन्दै उनले यो सरकारले पनि इतिहासको पुनर्लेखन गदैछ, यस्तो सरकारले गोविन्द केसीसँग कसरी वार्ता गर्ने भनी प्रश्न गरे। प्रमुख प्रतिपक्षी दलका नेताबिनै संवैधानिक परिषदले पाँच आयोगका अध्यक्ष नियुक्तिका लागि सिफारिस गरेको भन्दै आपत्ति जनाए। उनले भने, सरकार ठिक बाटोमा छैन, लोकतन्त्र र विधिको शासन भएको छैन। उनले दुईतिहाइको प्रयोग जनताको पक्षमा प्रयोग गर्न सत्तापक्षलाई आग्रह गरे। डा. गोविन्द केसीविरुद्धमा दुईतिहाइ प्रयोग गर्नु अशोभनीय भएको उनको भनाइ छ। ‘एउटा अनशनकारी चिकित्सा शिक्षाको सुधारको लागि ज्यान दिन तयार छ, तर सरकार उनका विरुद्ध दुईतिहाइ प्रयोग गर्छ।’ उनले डा.गोविन्द केसीसँग कुरा गर्दा दुई तिहाइको शिर नझुक्ने बताए।

सभामुखको आलोचना
डा. रिजालले सभामुख कृष्णबहादुर महराले संसद्मा खेलेका भूमिकाको पनि आलोचना गरे। उनले २०१५ सालको सभामुख कृष्णप्रसाद भट्टराई र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङबाट पाठ सिक्नसमेत सभामुखको ध्यानाकर्षण गरेका थिए। संविधानसभा अध्यक्ष सुवास नेम्वाङतर्फ लक्षित गर्दै भने, ‘दुईतिहाइले संविधान बनाउन खोज्दा सभाध्यक्षमाथि आक्रमण हुन लागेको भए पनि सहमतिबाटै सदन अघि बढाउने प्रयास सभाध्यक्षले गरेका कारण संविधानसभाबाट संविधान बनेको हो।’ उनले सभामुखसमक्ष कांग्रेसलाई पनि देख्न आग्रह गरे। सभाको सञ्चालनमा दुवै पक्षको आवाज सुन्न उनले सभामुखसँग आग्रह गरे। प्रतिपक्षलाई पेलेर मात्र बैठक बस्न नसक्ने उनको भनाइ थियो।

सभाको उच्च आसनमा बस्नुको अर्थ बताउँदै उनले भने, ‘उच्च आसनमा बसेर टाढाटाढा देख्न सकियोस, सानो आवाज सुन्न सकियोस् भन्ने हो,’ उनले भने। संसद् कार्यपालिका होइन भन्दै उनले भने, ‘सरकारलाई निरन्तर जनताको पक्षमा उत्तरदायी बनाउने थलो हो, हामीले सभामुखबाट यही अपेक्षा गरेका छौं। उनको भनाइस“गै कांग्रेस सांसद उठेपछि बैठक कार्यसूचीमा नै प्रवेश गरेन। सभामुखले बस्न पटकपटक आग्रह गरेका थिए। कांग्रेसका सांसद उठिरहेपछि उनले त्यसतर्फ पनि व्यंग्य गरेका थिए। सरकारले दुई अस्पताल संघीय सरकारअन्तर्गत हुने भनेर गरेको निर्णयमा खुसी भएर उठ्नुभएको हो माननीयज्यू भन्दै उनले व्यंग्य गरे, ‘यदि खुसी हुनुभएको हो भने उठिराख्नु पर्दैन बस्नुस्।’

प्रकाशित: १८ माघ २०७५ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App