coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले संसदमा अवरोध जारी राख्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध कायमै राख्ने संकेत गरेको छ। कार्यव्यवस्था समितिको बुधबारको बैठकमा सत्तारुढ दल र सभामुख कृष्णबहादुर महरा विगतका गल्ती र कमजोरी सच्याउन तयार नभएको आरोप लगाउँदै अवरोध जारी राख्ने तयारी गरेको हो।

शुक्रबारको प्रतिनिधिसभा बैठकको कारबाही प्रक्रियाप्रति पार्टीको गम्भीर आपत्ति रहेको जनाउँदै प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुख र सत्तारुढ दल आफ्नो गल्ती सच्याउन तयार नदेखिएको आरोप लगाए। सहमतिबाट संसद् बैठकलाई अघि बढाउनभन्दा सत्तारुढ दल प्रतिपक्षी दलले संसद् अवरोध जारी राखोस् भन्नेमा रहेको जिकिर गर्दै खाँणले नागरिकसँग भने, ‘कांग्रेसले संसद् अवरोध जारी राखेका बेला चिकित्सा शिक्षा विधेयक जसरी मलमिच्याइसँग पारित गरियो त्यसलाई सहजताका साथ सुधार गर्नेभन्दा प्रतिपक्षीले संसद् अवरोध जारी राखोस् र आफ्नो काम गर्दै जाउँ भन्ने मानसिकतामाका देखिएको छ।’

सभामुख संसद्को साझा व्यक्ति भएको भन्दै खाँणले शुक्रबार सत्तारुढ दलको प्रभावमा परेको आरोप लगाए। पार्टी नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा लगेको विरोधमा कांग्रेसले संसद् बैठक अवरुद्ध गरी रहेका बेला सभामुखले सहमतिका लागि प्रया गर्न नसकेको उनले आरोप लगाए। त्यसलाई सहजतका साथ सुधार गर्नुको साटो सरकार र सभामुखले अधिकतम बल प्रयोग गरेको आरोप लगाउँदै खाँणले भने, ‘सभामुखको भूमिका सरकारलाई रुलिङ गर्ने र सहमतिको प्रयास गर्ने हुनुपर्ने थियो तर उहाँ बलप्रयोग गरेर संसद्को कारबाही अघि बढाउनुभयो, जुन आपत्तिजनक छ।’ सभामुख र सरकार दुवै गम्भीर देखिएर छलफल भयो भने विधेयक अगाडि बढ्न सक्दैन भन्ने लागेर होला, छलफल नगरी अगाडि बढाइयो।’

‘सभामुखको भूमिका सरकारलाई रुलिङ गर्ने र सहमतिको प्रयास गर्ने हुनुपर्ने थियो तर उहाँ बलप्रयोग गरेर संसद्को कारबाही अघि बढाउनुभयो, जुन आपत्तिजनक छ।’

चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा सरकार र सभामुखले अधिकतम शक्ति प्रयोग गरेको भन्दै कांग्रेसले आगामी दिनमा त्यस्तो गल्ती नदोहोरीने प्रतिवद्धता नआएसम्म बैठक अघि बढ्न नसक्ने बताए। डा. गोविन्द केसीसँग भएको सम्झौताविपरीत सरकारले विधेयक ल्याएको कांग्रेसले आरोप लगाएको छ। केसीसँग भएको सहमति कार्यान्वयन गर्न आग्रह गर्दै उनको जीवन रक्षा गर्न पनि माग गरेको छ। केसीसँग भएको सहमति कार्यान्वयनसहितका विषयलाई बिहीबारको बैठकमा उठाउने कांग्रेसको तयारी छ।

यसैबीच कांग्रेसले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै माघ २१ गतेको राष्ट्रव्यापी विरोध प्रदर्शनलाई व्यापक बनाउने जनाएको छ। वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटाला प्रकरण छानबिन गर्न कांग्रेसले पुनः माग गरेको छ। ‘गम्भीर ढंगले गहिरो छानबिन गर्न हामीले संसद्मा र सार्वजनिकरूरुपमा पनि आवाज उठाउँदै आएका छौं,’ कांग्रेसले भनेको छ।

निजगढ विमानस्थल निर्माणका लागि आवश्यकभन्दा दोब्बर रूख कटान गर्न लागेको आरोप लगाउँदै कांग्रेसले भनेको छ, ‘नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बूढीगण्डकी बहुउदेश्यीय परियोजना बिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर, के रहस्य लुकेको छ।’

३३ किलो सुन काण्डमा ठूला माछा सरिक रहेको गृहमन्त्रीले नै बताए पनि उनीहरू अझै पक्राउ नगरेको आरोप लगाएको छ। गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरूपका ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन भन्ने प्रश्न गरेको छ। संघीयता कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाउँदै कांग्रेसले भनेको छ, ‘संघीयताको सम्वद्र्धन र रक्षाका लागि आम नागरिकलाई अपिल गर्नेछौं।’

प्रकाशित: १७ माघ २०७५ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App