८ वैशाख २०८१ शनिबार
राजनीति

सत्तारूढ दल आक्रामक, सरकार तटस्थ

काठमाडौ – भेनेजुयलामा उत्पन्न संकटका विषयमा सत्तारुढ नेकपाले कडा शब्दमा निन्दा गरेको केही दिनपछि सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार अमेरिकाले भेनेजुयलाका जनतामा विभाजन ल्याउन खोजेको र अन्तरिम राष्ट्रपतिलाई मान्यता दिएर निर्वाचित राष्ट्रपतिविरुद्ध ग्रान्ड डिजाइन रचेको आरोप लगाएका थिए। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भने भेनेजुयलामा हालै भएको राजनीतिक विकासक्रमलाई नजिकबाट हेरिरहेको जनाइएको छ।

‘नेपालले कुनै पनि मुलुकको आन्तरिक राजनीतिक परिवर्तन संवैधानिक र प्रजातान्त्रिक ढंगले हुनुपर्छ, बाह्य हस्तक्षेप हुनुहुँदैन,’ विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भेनेजुयलाको राजनीतिक र संवैधानिक विषयमा निर्णय गर्ने आधिकारिक निकाय त्यहाँका जनता भएको जनाइएको छ। नेपाल भेनेजुयलाको शान्ति, स्थायित्व र एकताको पक्षमा रहेको असमझदारीलाई शान्तिपूर्ण माध्यमबाट समाधान खोजिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

भेनेजुयला मामिलामा सत्तारुढ नेकपाले अमेरिकालगायतका मुलुकको कडा विरोध गरे पनि सरकारको धारणा भने तटस्थ देखिन्छ।

भेनेजुयला मामिलामा सत्तारुढ नेकपाले अमेरिकालगायतका मुलुकको कडा विरोध गरे पनि सरकारको धारणा भने तटस्थ देखिन्छ। नेकपाको वक्तव्यले नेपाल अमेरिका नेतृत्वको गठबन्धनविरुद्ध चीन र रुसको कित्तामा उभिने अनुमान गरिएको थियो। तर सरकारको आधिकारिक धारणा भने नेपालले अवलम्बन गर्दै आएको परम्परागत मान्यताअनुसार नै आएको छ। यसलाई कतिपयले नेकपाले निकालेको कडा वक्तव्यको ‘फेस सेभिङ’ का रुपमा पनि हेरेका छन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने भेनेजुयला मामिलामा सरकारले आफ्नो धारणा सार्वजनिक गरेकाले यसलाई त्यही रुपमा बुझ्न आग्रह गरे। सत्तारुढ दलले जारी गरेको भाषा र सरकारको वक्तव्यमा त अन्तर देखियो नि भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भने, ‘सरकारले सरकारको भाषा बोल्छ, हामीले त्यही बोलेका हौं।’

भेनेजुयलामा निर्वाचित राष्ट्रपति निकोलास मदुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता जुवान गुवाइदोले २३ जनवरीमा आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। अमेरिकासहितका पश्चिमा राष्ट्रले गुवाइदोलाई मान्यता दिएका छन् भने चीन र रुस मदुरोको पक्षमा छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीले अमेरिकाको साम्राज्यवादी नीतिको विरोध गरेको बताउँछन्। ‘यस्तो विषयको विरोध गर्ने हाम्रो नीति नै हो, यही सन्दर्भमा अध्यक्षको वक्तव्य आएको हो,’ श्रेष्ठले भने, ‘अमेरिकासँग हाम्रो सम्बन्ध छँदैछ, उसको नीतिको विरोध हो। यो सामान्य विरोध होइन, कडा विरोध हो।’ प्रवक्ता श्रेष्ठ भेनेजुयलाका निर्वाचित राष्ट्रपतिलाई अमेरिकाले मान्दिन भनेको केही मिनेटमै वतव्य निकालेकाले त्यसमा अमेरिकाकै डिजाइन देखिएको दाबी गर्छन्। ‘यसलाई सामान्य रुपमा लिन नमिल्ने भएकाले अध्यक्षले वक्तव्य दिनुभएको हो,’ उनले भने।

दाहालको वक्तव्य प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको डाभोसमा रहेका बेला आएको हो। ओलीले शनिबार स्वदेश फर्कने क्रममा दाहालको वक्तव्यबारेमा अनभिज्ञता व्यक्त गरेका थिए। श्रेष्ठले वक्तव्य निकाल्ने बेला अध्यक्ष दाहालको अर्का अध्यक्ष ओलीसँग सम्पर्क हुन नसकेकाले अनभिज्ञता व्यक्त भएको हुन सक्ने बताउँछन्।

दाहालले प्रयोग गरेका शब्द भेनेजुयलालाई मजबुत समर्थन गरिरहेको चीनले प्रयोग गरेका शब्दभन्दा पनि कडा छन्। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिनले भेनेजुयलामा संकट सुरु भएको अर्काे दिन जनवरी २४ मा नियमित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै भेनेजुयलाको अवस्थालाई नजिकबाट हेरिरहेको र शान्तिपूर्ण वार्ताका माध्यमबाट संवैधानिक ढंगले राजनीतिक समाधान खोज्न आग्रह गरेको बताएकी थिइन्। उनले त्यहाँको सरकारले निर्माण गरेको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र स्थायित्वको समर्थन गर्ने जनाएकी छन्।

उनले चीनले अन्य मुलुकको आन्तरिक मामिलामा अहस्तक्षेपकारी सिद्धान्तलाई पालना गर्दै आएको र भेनेजुयलामा भएको बाह्य हस्तक्षेपको विपक्षीमा रहेको बताएकी थिइन्। चीनले निकोलास मदुरोलाई राष्ट्रपतिको मान्यता दिन्छ भन्ने प्रश्नमा उनले चीनसहित कयौं मुलुक तथा अन्तर्राष्ट्रिय समुदायले १० जनवरीमा निकोलासको उद्घाटन सत्रमा सहभागी जनाएको भन्दै घुमाउरो पाराले समर्थन गर्ने जनाउ दिएकी छन्।

रुसले भेनेजुयलामा देखिएको शक्ति हत्याउने तरिका विवादित रहेको र अन्तर्राष्ट्रिय सिद्धान्त र कानुनको उल्लंघन गरिएको जनाएको छ। रुसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यस विषयमा धेरै गम्भीर छौं, आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय समुदाय र तेस्रो पक्षको हस्तक्षेप भएको छ, यस्तो हस्तक्षेप अस्वीकार्य छ र यसले गलत परिणाम ल्याउँछ।’

प्रकाशित: १६ माघ २०७५ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App