१५ चैत्र २०८० बिहीबार
राजनीति

नयाँ शक्तिको १ महिने अभियान सुरु

चिवाभञ्याङ (पाँचथर) – नेपाल–भारत सिमानामा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती बिन्दु पाँचथरको चिवा भञ्याङबाट नयाँ शक्ति पार्टी नेपालको ‘जनसंवाद यात्रा २०७५’ सुरु भएको छ। एक महिनापछि पश्चिम बैतडीको झुलाघाटमा सकिने यात्राको पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले सुरुवात गरे। मध्यपहाडी लोकमार्गले छोएका पूर्वदेखि पश्चिम पहाडसम्म बजार तथा बस्तीहरूमा अन्तक्र्रिया, छलफल गर्ने एक महिना लामो कार्यक्रमको सुरुवात भएको हो।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, संघीय लिम्बुवान परिषद्का नेताको पनि सहभागिता थियो।
‘नेपाल शान्ति र समृद्धिमा लम्बिन सकोस् भन्ने साझा सपना छ। यो राष्ट्रको साझा अजेन्डा हो। यो कसरी पूरा गर्न सक्छौँ भन्ने बुझ्न १ हजार ७ सय ७६ किलोमीटरको जनसंवादयात्रा सुरु गरेका हौँ,’ डा. भट्टराईले भने ‘असल राजनीति र समावेशि विकासका लागि जनसंवाद यात्रा अघि बढाएका हाैं।’

देशलाई एकतावद्धता र समृद्धिका लागि के गर्न सकिन्छ भन्ने सवाद गर्न लागेको उनले बताए। आम जनताबाट सुझाव संकलन गर्दै अघि बढ्ने योजना रहेको उनको भनाइ थियो। ‘पहाडका प्रमुख सात जातिको बीचबाट यो राजनमार्ग जान्छ। यो राजमार्गको आसपासमा विकास गर्नु भनेको समावेशी विकासको बाटो हो,’ भट्टराईले भने, ‘विकासका बाहक जनताहुन। स्थानिय तहमा विकासको भोग जागेको छ। हामि स्थानिय तह, जनप्रनिधिहरुसँग सवाद गर्छौ। संविधानले दिएका पाएका अधिकार पाए पाएनन जस्ता विषयमा विशेष संवाद हुने छ।’

‘लोकतन्त्रको यतिलामो लडाइँ लड्यौँ। क्रान्तिको रापताप सेलाउँदै गर्दा नेताहरुमा स्वार्थीपन देखिदो रहेछ। सत्तामा पुग्दा गुलियोमा किरा लट्पटिए झैं लट्पटिएको भान हुन्छ। वाइड वडी काण्ड, बूढीगण्डकी प्रकरण, एनसेल प्रकरण भएको छ। विकासको बजेट सदुपयोग हुन सकेको छैन,’ भटराईले भने, ‘यसलाई कसरी रोक्न सकिन्छ भन्ने अभियान हो यो। जनताका कुरा सुन्न आएका छौँ।’ अभियानका क्रममा मध्यपहाडी लोकमार्गले छोएका २५ जिल्लामा ७५ भन्दा धेरै ठाँउमा कार्यक्रम राखिएको छ।

प्रकाशित: १६ माघ २०७५ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App