७ वैशाख २०८१ शुक्रबार
राजनीति

सभामुखबाट जालझेल भयो, कांग्रेस अब संसदमा लड्छः गगन थापा

तस्बिर : दिनेश लुइटेल/नागरिक

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा बैठकमा सभामुखबाट जालझेलपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। 

कांग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले दुई तिहाई बहुमतको आडमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले सभामुख र सरकारको व्यवहारविरुद्ध कांग्रेस अब संसद र सडकमा लड्ने चेतावनी दिए।

सभामुखले तपाईहरुको अवरोध भयो भने सदन अगाडि बढाउदिन भन्ने सन्देश कांग्रेसलाई दिएको तर बैठकमा जालझेल गरेको उनको दाबी छ। ‘चिकित्सा शिक्षा विधेयक पास गर्न सरकाभन्दा अर्काे कोही लागेको थियो भने त्यो सभामुख लागेको थियो’, उनले भने, ‘संसदको मुठभेड टार्ने बेलामा प्रतिपक्षी सांसदलाई बोलाएर संसदमा गलत व्यवहार गरियो।’ सभामखुले पदबाट जिम्मेवारपूर्ण व्यवहार गर्न नसेकेको उनको गुनासो छ।

उनले गोविन्द केसीसँग भएको सम्झौता उल्ट्याएर सरकारले गल्ती गरेको टिप्पणी गरे। ‘गर्न नहुने व्यवस्थालाई परिवर्तन गरेर सरकारले गल्ती ग-यो’, उनले भने, ‘सरकार प्रतिपक्षीसँग मुडभेट चाहन्छ। गोविन्द केसी मरे मरोस भन्नेमा छ।’

थापाले सरकार शक्तिशाली हो कि सरकारलाई चलाउने व्यवसायी भनी प्रश्न गरे। ‘चिकित्सा शिक्षा सरकारको हुनुपर्छ भन्ने डा केसी, आम जनताको मागलाई कुल्चनेर विजयी उत्सव मनाएको सरकारलाई बधाई छ। अब कांग्रेस संसदमा लड्छ, याे लडाइ लामाे र महंगाे हुन्छ’, उनले चेतावनी दिँदै भने। 

प्रकाशित: ११ माघ २०७५ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App