coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुधारको सट्टा मर्यादापालक फिर्ता

रूपन्देही - प्रदेशसभा सचिवलायले एक वर्षदेखि कार्यरत दुई मर्यादापालकलाई फिर्ता पठाएको छ। नागरिक दैनिकमा ‘माननीयलाई करोडको गाडी, मर्यादापालकलाई रात काट्नै सकस’ शीर्षकमा समाचार आएपछि त्यसको निहुँमा दुईजना मर्यादापालक फिर्ता पठाइएको स्रोतले जनाएको छ।

प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर मल्ल र प्रहरी हवल्दार यज्ञ बहादुर खत्रीलाई दंगा प्रहरी नियन्त्रण प्रहरी गण बुटवल रामनगरमा फिर्ता पठाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सञ्चालन तथा सचिवालयमा सुरक्षार्थ खटिएका मर्यादापालकले न्यूनतम सेवा सुविधा पनि नपाएको गुनासोसहित समाचार प्रकाशित भएपछि प्रदेशसभाले एकाएक मर्यादापालक फिर्ता पठाएको हो। प्रदेशसभामा खटिएका ४३ जना मर्यादापालकले कपडा फेर्ने कोठासमेत साँघुरो भएको, मर्यादापालक प्रमुखको कार्यकक्ष नभएको तथा छतमा मेस चलाउनुपरेको पीडा पत्रकारलाई भनेको आधारमा कारबाहीस्वरूप फिर्ता पठाइएको स्रोतले जनाएको छ। प्रदेशसभामा मर्यादापालक कम भइरहेको बेला एक वर्षदेखि अनुभव प्राप्त गरेका मर्यादापालक हटाइएको हो।

गत वर्ष माघमा संसद्मा काम गरेको अनुभवका आधारमा पुनरावेदन अदालत समन्वय तथा सुरक्षा प्रहरी एकाइ न्यायाधीश सुरक्षा गार्डमा दरबन्दी रहेका मल्ललाई प्रदेसभामा खटाइएको थियो। काजमा खटिएका उनलाई प्रदेशसभाको सबैभन्दा अनुभवी मर्यादापालकका रूपमा हेरिन्छ। यसैगरी प्रहरी हवल्दार खत्री प्रहरी चौकी चनौली वगाहा बेलहियाबाट प्रदेशसभामा काजमा आएका थिए। एकाएक दुईजना मात्रै उनीहरूलाई फिर्ता पठाइएपछि मर्यादापालकहरू चकित परेका छन्। प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले मर्यादापालकले पत्रकारलाई सूचना दिएको भन्दै कार्यकक्षमा बोलाएर कारबाहीको संकेत गरिसकेका थिए। प्रदेशसभा जाँदा सकसपूर्णरूपमा चेञ्जिङ रुममा बसेको देखेपछि रिर्पोटिङ गरिएको थियो। तर, मर्यादापालकले आफ्नो पीडा सुनाए वापत कारबाही भोगेपछि प्रदेशसभामा कार्यरत मर्यादापालक त्रसित भएका छन्।

गत वर्ष माघमा संसद्मा काम गरेको अनुभवका आधारमा पुनरावेदन अदालत समन्वय तथा सुरक्षा प्रहरी एकाइ न्यायाधीश सुरक्षा गार्डमा दरबन्दी रहेका मल्ललाई प्रदेसभामा खटाइएको थियो। काजमा खटिएका उनलाई प्रदेशसभाको सबैभन्दा अनुभवी मर्यादापालकका रूपमा हेरिन्छ।

यसअघि पटकपटक सुधारका लागि आवाज उठाएपछि सचिव दुर्लभकुमार पुन फिर्ता पठाइएका मर्यादापालकसँग रुष्ट थिए। कार्यकक्ष अस्तव्यस्त र मर्यादापालकले पालैपालो कपडा परिवर्तन गरेको देखेपछि सचिव पुनसँग बुझ्न जानबित्तिकै उनले मर्यादापालकलाई बोलाएर हकारेका थिए। यी घटनाक्रमले समाचारकै आधारमा गणमा फिर्ता पठाइएको स्रोत बताउँछ। सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा मर्यादापालक फिर्ता पठाइएको स्रोतको दाबी छ। तर, प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले भने गणले फिर्ता मागेकाले पठाइएको बताए। तर कारण भने खुलाएनन्। उनलाई कार्यकक्षमै भेट्न जाँदा पनि समय दिएका थिएनन्। धेरै पटक टेलिफोन गरेपछि सम्पर्कमा आएका उनले भने,‘मर्यादापालकलाई कुनै समस्या छैन, अहिले म व्यस्त छु।’

समाचार प्रकाशन भएपछि सुधार गर्नुपर्नेमा उल्टै मर्यादापालमाथि कारबाही गरेको प्रदेशसभाले बिहीबार मात्रै फिर्ताको पत्र थमाएको हो। प्रहरी संगठनले प्रदेशसभामा खटाइएका मर्यादापालकलाई ५ वर्षका लागि खटाएको थियो। एकाएक गणले राजनीतिक नेतृत्वको दबाबमा परेर फिर्ता बोलाएको हो। समाचार आएपछि एकाएक मर्यादापालक फिर्ता पठाइएकोबारे भने प्रदेश प्रहरीलाई आधिकारिक जानकारी छैन।

दंगा नियन्त्रण गण बुटवलले हेरफेर गरेको बताउँदै समाचारकै आधारमा कारबाही गर्न नमिल्ने प्रदेश ५ का प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डिआइजी पिताम्बर अधिकारीले बताए। ‘जिम्मेवारी हेरफेर भइरहेको हुन्छ, समाचारको आधारमा कारबाही गरिएको होइन,’ डिआइजी अधिकारीले भने। दंगा प्रहरी नियन्त्रण गण एंव प्रदेशसभा सुरक्षा तथा समन्वय एकाइ बुटवलका प्रमुख एसपी दिलीपसिंह देउवाले भने गणमा जनशक्ति कम भएकाले फिर्ता बोलाइएको बताए। प्रहरी संगठनले सरकार र प्रदेशसभाको दबाबमा फिर्ता पठाइएको प्रहरी अधिकारीले नै बताएका छन्।प्रदेशसभामा सांसद पदाधिकारीका लागि करोडको सुविधा छ। तर मर्यादापालकले भने आफ्नै खर्चमा खाना, खाजा र ओहोरदोहोर गर्नुपरेको छ। प्रदेशसभा सचिवालयका अन्य कर्मचारीले खाजा, यातायात तथा अन्य सुविधा पाए पनि मर्यादापालकले भने चिया पनि खान पाउँदैनन्। मर्यादापालकहरूले एक वर्षदेखि साँघुरो र अध्याँरो कोठामा कोच्चिएर, थेच्चिएर रात दिन बिताइरहेका छन्।

समाचार आएपछि भने मर्यादापालक फिर्तासँगै केही सुधार भने गर्न थालेको छ। बिहीबार मर्यादापालक प्रमुख इन्सपेक्टर होमबहादुर चौधरीका लागि कार्यकक्ष बनेको छ। मर्यादापालकलाई खाजा खुवाउन थालिएको छ। प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले भने दुई जना मर्यादा पालकलाई मात्रै फिर्ता पठाउनु गलत भएको बताएका छन्। प्रदेशसभामा सुरुदेखि नै खटेका अनुभवी मर्यादापालक फिर्ता पठाएर दुईतिहाइको दम्भ देखिएको पोखरेलले आरोप लगाए। उनले भने, ‘आस्थाका आधारमा कर्मचारी राख्ने हटाउने काम पनि भइरहेको छ, यो पनि त्यसैको सिलसिला हुनसक्छ।’

प्रकाशित: ११ माघ २०७५ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App