१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘गोविन्द केसीका माग बदलिएका छैनन्, तर योगेश भट्टराईको स्वार्थ बदलियो’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन्। 

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्ने पनि योगेश भट्टराई नै हुन। रवीन्द्र अधिकारी र उहाँ हो नि पहिलो हस्ताक्षरकर्ता। त्यसपछि गगन थापाजी त तेस्रो, चौथौमा पुग्नुभएको हो। नेपाली कांग्रेसका युवा नेताहरु केही पछि पुग्नुभएको हो। तर, केसीका माग ठीक छन् भनेर एक नम्बर हस्ताक्षरकर्ता योगेश भट्टराई हुन।’

उनले योगेश भट्टराईले सत्ताको कभर लगाएपछि विवेक गुमाएको पनि आरोप लगाए। उनले थपे, ‘प्रतिपक्षमा बस्दा एउटा कुरा, सत्तामा पुग्नेबित्तिकै अर्को कुरा। सायद मलाई लाग्छ योगेशजी धेरै कुरामा ओलीजीसँग फेल भएको कारणले यो विषयमा पास गरेर देखाउने रहर पनि होला। गोविन्द केसीलाई फेल गराएपछि योगेशजी पास हुँला भन्ने होला। तर, विवेक प्रयोग गर्ने हो भने योगेशजी सरासर झुठ बोलिरहनुभएको छ।’

विश्वकर्माले प्रधानमन्त्री भनेको मुलुकको अभिभावक र राजनेता भएकोले सम्झौता गरेको विषय कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘संसदले सर्वसम्मतबाट अनुमोदन गरेको विषयमा उनै प्रधानमन्त्रीले आफ्ना सांसदहरुलाई उक्साएर सहमतिमा भएका बुँदाहरुलाई ठीक विपरित हुनेगरि अब उहाँले विद्येयक ल्याउनुभयो। त्यो विद्येयक संसदमा पास भएन। नभएपनि संसदमा पठाउने निर्णय गर्नुभयो। अनि समितिको घुमाउरो बाटोबाट आयो। समितिमा भएका सदस्यहरुले समिति बहिष्कार गर्नुहुन्न नि त। यस्तो खालको काइते कुरा गर्नुहुन्छ राजनेताहरुले? ओली प्रधानमन्त्री मात्रै होइन, राजनेता हो। राजनेताले बोलेको कुरा, हस्ताक्षर गरेको कुरालाई ठट्टा मजाकमा पिकनिक जाने विषयजस्तो अथवा कहीँ घुम्न जाने विषयजस्तो बनाउनुहुँदैन्।’

संघीय सरकारले हेर्ने वा सरकारको मातहातमा रहने गठन आदेशका साथ प्रस्तुत गरिएका ११ वटा अस्पतालहरुमध्ये ९ वटा अस्पताललाई मन्त्रिपरिषदले स्वीकृती दिएको र १० र ११ नम्बरका दुई वटा अस्पतालहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नाम भएको अस्पतालमा कुनैपनि निर्णय नभएकोले आफूहरुले विरोध गरेको पनि उनले स्पष्ट पारे। 

उनले भने, ‘स्वास्थ्यमन्त्रीको यसमा कुनै बदनियत छैन। उहाँले स्पष्टताका साथ ११ वटा अस्पतालहरुको नाम पेश गर्नुभएको छ। तर, मन्त्रिपरिषदमा पास नहुनु भनेको त्यो मन्त्रीको जिम्मेवार होइन। त्यसमा प्रधानमन्त्री जिम्मेवार हो। प्रधानमन्त्रीले अहिले यी दुई वटा अस्पतालको बारेमा केही निर्णय हुँदैन भन्नुभयो। त्यसैले कम्युनिष्टहरु जे बोल्छन्, त्यो गर्दैनन। जे गर्छन, त्यो बोल्दैनन् भनेर हामीले भनेको हो।’

माघ ११ गते बस्ने संसद बैठकमा विद्येयक पारित गर्ने तयारी भैसकेको छ, अब तपाईहरु रोक्नुहुन्छ कि पारित गर्न दिनुहुन्छ भनेर सोधेको प्रश्नमा उनले भने, ‘रोक्ने कि नरोक्ने भन्ने कुरा परिस्थिति कस्तो सिर्जना हुन्छ? सभामुखको कार्यशैलीमा पनि भरपर्दो रहेछ।’

उनले सभामुख कृष्णबहादुर महराको कार्यशैली आफूहरुलाई चित्त नबुझेको पनि गुनासो पोखे। उनले भने, ‘सभामुखको कार्यशैलीमा सत्ताको अनुहार देखियो। माफिया, अथवा कुनैपनि व्यक्तिसँग, चिकित्सा शिक्षा विद्येयकसम्बन्धी माफियाहरुसँग उहाँहरुको केही न केही गैरकानुनी कारोबार छ। अदृश्य कारोबार छ। त्यो कारोबारमा उहाँहरुलाई निकै टर्चर भैसक्यो। प्रधामन्त्रीलाई, मन्त्रीलाई टर्चर भैसक्यो। यातना भयो। उहाँहरुसँगको साँठगाँठमा दबाब भएको छ।’

प्रकाशित: ९ माघ २०७५ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App