१६ चैत्र २०८० शुक्रबार
राजनीति

देशमा ठूलो संकटको खतराः अध्यक्ष थापा

हिन्दु राष्ट्र पुर्नस्थापना जागरण अभियान अन्तरगत घरदैलो अभियानको शुभारम्भ गर्नुअघि पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापा लगायत । तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले देशमा ठूलो अस्थिरता, अराजकता र बिखण्डनको खतरा रहेको बताएका छन्। गृहनगर हेटौंडामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले ठुला दल र नेताहरुले गलतलाई सच्याउने आँट नभएकाले देशमा संकट आउने चेतावनी दिएका छन।

हत्या र बलात्कार काण्डमा सरकारमा सहभागी दलकै नेताहरुको संलग्नता रहेको चर्चा भईरहेपनि सरकारले चासो नदिनु दुःखद रहेको उनले बताए। देशमा तिब्र रुपले भ्रष्ट्राचार र ब्रम्हलुट बढेको बताउँदै उनले आफुले एक पैसा भ्रष्ट्राचार नगरेको तर्क गरे। ‘गैरकानूनी आर्थिक कारोबारको प्रश्न उठिरहेको हुँदा संकास्पद व्यक्ति र संस्थाको बैक खाता तत्काल रोकेर अनुसन्धान अघि बढाउन सरकारसँग माग गर्दछु ।’

काँग्रेसले कम्यूनिष्टको बिरोध गरेपनि कम्यूनिष्टको एजेण्डा बोकेर कम्यूनिष्टकै बिकल्प बन्न नसक्ने उनले दाबी गरे । ‘धर्म निरपेक्षता, संघीयता र गणतन्त्र बाह्य शक्तिले कम्यूनिष्टमार्फत् भित्र्याएको हुन्, उनले भने, ‘कम्यूनिष्टमार्फत् भित्र्याएको एजेण्डा बोकेर काँग्रेस बिकल्प हुन सक्दैन ।’ कांग्रेसको स्थापना र संस्थापक नेताहरुले राजतन्त्रसहितको प्रजातन्त्रलाई आत्मसाथ गरेकाले हिन्दु राष्ट्रसँगै राजतन्त्रको एजेण्डामा एकमत हुनुपर्ने उनको भनाई छ ।

अर्को प्रशंगमा उनले यही रफ्तारमा धर्म परिवर्तन हुँदै गए नेपाल धार्मिक द्वन्दको डरलाग्दो चक्रब्यूहमा फस्न सक्ने खतरा भएको बताए। हिन्दु, बौद्ध र किराँत धर्मको साझा स्वरुप सनातन धर्मको संरक्षण र सम्बद्र्धनका लागि हिन्दु राष्ट्र पुर्नस्थापनाको विकल्प नभएको उनको तर्क छ । बिगतमा धर्म निरपेक्षता ल्याउने क्रममा आदिवासी जनजाति र ब्राम्हण क्षेत्रीबीच झगडा ल्याउने काम भएकाले सम्बन्ध सुधार गर्न पहल गर्ने राप्रपा अध्यक्ष थापाले बताए। राप्रपाले फागुन ७ गतेबाट हिन्दु राष्ट्र पुर्नस्थापना लगायतका माग राखी जनसंघर्ष गर्ने समेत बताए।
 

 

प्रकाशित: ७ माघ २०७५ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App