coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीयताको भविष्य जनप्रतिनिधिकै हातमा : मुख्यमन्त्री राई

फिक्कल (इलाम)– एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता असफल भए जनप्रतिनिधिकै कारणले मात्र हुनसक्ने भन्दै सबैले जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन्। संघीयता असफल बनाउने प्रयत्न भइरहेको भन्दै उनले कुनैपनि हालतमा यसलाई सफल बनाएर छाड्ने दृढता व्यक्त गरे। 

‘संघीयतामाथि धारोहात लगाउने धेरै देखिन थालेका छन्,’ आइतबार फिक्कलमा सूर्याेदय नगरपालिकाको चौथो नगरसभा उद्घाटन गर्दै उनले भने, ‘तर, कसैको बलले संघीयतालाई असर पु-याउन सक्दैन। यदि संघीयता असफल भए अहिलेका हामीजस्ता जनप्रतिनिधिकै कारणले मात्रै हुनसक्छ।’ उनले तीनै तहका सरकारलाई असफल बनाउने प्रयास भइरहेको भन्दै अहिलेका तीनै तहका सरकारलाई काम नगर्ने छुट नभएको बताए। ‘अहिलेका सरकारले फलानो कारणले काम गर्न सकिनँ भनेर छुट पाउने अवस्था छैन,’ उनले भने, ‘संघीयताको भविष्य हामी जनप्रतिनिधिकै काममा भर पर्ने भएकाले सबै आफ्नो कामप्रति जिम्मेवार हुनुपर्छ।’  

देशमा नयाँ संविधानअनुसार नयाँ संरचना बनेकाले अहिलेका सरकारको काम ढिलो भएको र धीमा गतिमा चलिरहेकोजस्तो भएको स्वीकारे। ‘स्थानीय तहका सरकार अहिले प्रत्येक सेकेन्ड व्यस्त हुने बेला हो,’ उनले भने, ‘तर, आफैं कानुन बनाएर अघि बढ्नेपर्ने भएकाले काम गर्न समय लागेजस्तो भएको छ। अब बिस्तारै कामको गति अघि बढ्छ।’ आफू संघीयता सफल बनाउनकै लागि मुख्यमन्त्री भएको भन्दै उनले भने, ‘म चाहेको भए संघीय सरकारको मन्त्री पनि हुनसक्थें, सिंहदरबारमा बस्थें तर म जनताको घरमा सिंहदरबार पु-याउनकै लागि प्रदेशमा आएको हुँ।’ 

मुख्यमन्त्री राईले १ नम्बर प्रदेशलाई आत्मनिर्भर बनाउने र हरियाली प्रदेश घोषणा गर्ने तयारी भइरहेको पनि बताए। ‘यहाँको कृषि, पर्यटनका साथै आर्थिक विकासका सम्भावनाहरू केलाएर स्पष्ट योजनासाथ अघि बढ्नुपर्छ,’ उनले भने, ‘सबै स्थानीय तह कुनै न कुनै सम्भावनायुक्त भएकाले जुन ठाउँमा जुन योजना आवश्यक हुन्छ, त्यसैअनुसार काम गर्नसके सरकारले लिएको समृद्धिको लक्ष्यमा पुग्न सकिन्छ।’ 

प्रकाशित: ६ माघ २०७५ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App