९ आश्विन २०७७ शुक्रबार
राजनीति

गिरिजा र सुशीलका नामका अस्पताल विघटन नगर: पौडेल

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमवार आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले काङ्ग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय स्व गिरिजाप्रसाद कोइराला र स्व सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गरे। तत्कालीन सरकारले स्व गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा श्वासप्रश्वास र बाँकेमा स्व सुशील कोइरालाको नाममा क्यान्सर अपस्ताल खोल्ने निर्णय गरी दुबै अस्पताललाई मुलुककै प्रतिष्ठित र सुविधा सम्पन्न बनाउने गरी विस्तारको प्रक्रिया अघि बढाएको थियो।

मुलुकको शान्ति प्रक्रियाका नेतृत्वकर्ता स्व गिरिजाप्रसादको श्वासप्रश्वासबाट ग्रसित भई निधन भएको थियो भने संविधान जारी गर्दाताका सरकारको नेतृत्वकर्ता स्व सुशील कोइराला जीवनको उत्तरार्धमा क्यान्सरबाट पीडित थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका ११ ठूला अस्पताललाई सङ्घीय सरकार मातहत रहने गरी गठन आदेशका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको आफूहरुलाई जानकारी आएको नेता पौडेलले दावी गरे। उनले भने, “तर मन्त्रिपरिषद् बैठकले काङ्ग्रेसका दुबै नेताका नामका बाहेक नौ अस्पताललाई मात्र सदर गरी निर्णय गर्यो र स्वास्थ्य मन्त्रालयले ती दुबै अस्पताल विघटनको प्रक्रियामा लगेको भन्ने हामीले आज खबर पायौँ ।”

सो खबर पाएलगत्तै काङ्ग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेट्न खोजेका थिए। सचिवालयले प्रधानमन्त्रीको व्यस्तताले भेटका लागि भोलि मात्रै समय उपलब्ध हुने खबर गरेको पौडेलले बताए। 

सरकार शान्तिसुरक्षा र विकासमा असफल भएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले विकास निर्माणका सन्दर्भमा बनिसकेका अस्पताल विघटन गर्न खोजेर उल्टो बाटोमा हिँडेको आरोप लगाए।

सञ्चारकर्मीको प्रश्नमा पौडेलले नेपाल वायु सेवा निगमको वाइड बडी खरीद प्रक्रियामा देखिएको अनियमितताप्रति छानबिन हुनुपर्ने माग गरे। साथै उनले निर्मला हत्याकाण्डका दोषी पत्ता नलाग्नु पछाडि घटनामा शक्तिशाली मान्छेको संलग्नता भएको हुनसक्ने आशङ्का व्यक्त गरे।

चिकित्सा विधेयक पनि संसदबाट बहुमतका आधारमा जबर्जस्ती पारित गर्न खोजिए प्रतिवाद गर्ने धारणा व्यक्त गर्दै पौडेलले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए। मुलुकका दूरदराजमा अस्पताल खोल्ने कुरा सरकारले नमान्नु संविधानको समाजवादको भावना विपरीत रहेको टिप्पणी गर्दै नेता पौडेलले काङ्ग्रेसले यस्तो हुन नदिने बताए। रासस

प्रकाशित: ३० पुस २०७५ १८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App