५ वैशाख २०८१ बुधबार
राजनीति

सचिव कुटपिट प्रकरण : कर्मचारी आन्दोलित, कामकाज ठप्प

मन्त्री विजय यादव।

लहान - प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झालाई गरेको हातपात घटनाको न्यायोचित छानबिन गरि कारबाहीकाे मागसहित कर्मचारी संगठनहरुले मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र मार्फत कर्मचारी संगठनहरुले माग सुनवाईका लागि २४ घण्टे अल्टिमेटम समेत दिएका छन्।

सचिव झामाथि भएको हातपात घटनाको बिरोधमा प्रदेश २ सरकारका कर्मचारीहरुले सोमबार हातमा कालो पट्टी बाँधेर विरोध गरेका छन्। कर्मचारीहरुको आन्दोलनका कारण प्रदेश सरकारको काम समेत ठप्प भएको छ। वन मन्त्रालयका शाखा अधिकृत बेचन महतोले नागरिकसँगकाे कुराकानीमा सचिव झामाथि भएको हातपात घटनाका दाेषीलाई कारबाही नभएसम्म आन्दोलन नराेकिने बताए। उनले भने,‘कर्मचारीहरुको मनोबल गिराउनेगरि भएको घटनाका दोषीउपर कारबाही नभएसम्म आन्दोलन रोकिदैन।’ उनले सचिव झामाथि भएकाे हातपातको घटना छानबिन गरि कारबाही नभएसम्म आन्दोलन नरोकिने बताए। ‘काममा चित्त नबुझे कारबाही गर्ने मन्त्रीसँग धेरै विकल्प हुन्छ,’ महतोले भने, ‘राष्ट्रसेवक कर्मचारीमाथि हात हाल्न मन्त्रीलाई कानुनी छुट छैन्।’

आफूले सिफारिस गरेको एनजिओको नाम ‘सर्टलिस्ट’ नगरिदिएको झोंकमा मन्त्री यादवले आइतबार आफ्नै कार्यकक्षमा बोलाएर झापड हानेको बताइएको छ। तर मन्त्री यादवले आफूले सचिव झालाई झापड नहानेको दाबी गर्दै आएका छन्। मन्त्री यादवले हात हालाहल नभई ‘भनाभन’ मात्र भएको दाबी गरेका छन्।

गरिबी निवारणको लागि उद्यम कार्यक्रमको फाइल बोकेर मन्त्री यादवको कार्यकक्षमा प्रवेश गरेकाे आफूलाई ‘मैले सिफारिस गरेको एनजिओलाई किन सर्टलिस्ट नगरेको ?’ भन्दै मन्त्री यादवले गालामा झापड हानेको सचिव झाले बताएका छन्। गालामा झापड हानेपछि लात्तीले पिठ्यु र ढाँडमा समेत हिर्काएको उनले सञ्चारकर्मीसमक्ष बताएका छन्। सचिव झालाई कुट्दा मन्त्री यादवको कार्यकक्षमा प्रदेश २ का सभामुख सरोज यादव पनि उपस्थित थिए।

यता, सचिव झा भने आइतबार रातीदेखि जनकपुरको केयर मेडिकल अस्पतालमा उपचारका लागि भर्ना भएको शाखा अधिकृत महतोले जानकारी दिए। 'हामीले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र मार्फत झाको उचित स्वास्थ्य उपचारको समेत माग राखेका छौ', महतोले भने,‘कर्मचारीको सुरक्षाको प्रत्याभूती हुनुपर्छ। सुरक्षाको प्रत्याभूती नभएसम्म हामीलाई काममा फर्कन डर छ। माग सम्बोधन नभए सशक्त आन्दोलन सुरु गर्छौ।’ 

प्रदेश २ को सरकारले आइतबार आकस्मिक बैठकमार्फत घटना छानबिनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा समिति गठन गरिसकेको छ। समितिले छानबिनको काम सुरु गरिसकेको छ। समितिले मन्त्री विजय यादव र सचिव झासँग भेटेको छ। समितिका संयोजक मन्त्री यादवले दुई/तीन दिनमै घटनाबारे सत्य–तथ्य बाहिर आउने दाबी गरे।
ज्ञापनपत्र

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App