coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परम्पराको निरन्तरता वा आवश्यकता ?

काठमाडौ - प्रधानसेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेलगत्तै भारतीय राष्ट्रपतिको अफिसियल ट्वीटरमार्फत थापाले नेपाली सेनामा उनले दिएको योगदान र नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धमा पुर्‍याएको योगदानका लागि मानार्थ महारथीको सम्मान दिएको जनाइएको छ। तर, यस किसिमको सम्मान पछाडिको अर्थ के हो ? यो परम्पराको निरन्तरता हो वा अन्य कारण छन् ?नेपाल र भारत दुवै देशले एकअर्काका सेना प्रमुखलाई विगत लामो समयदेखि नै मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने चलन चल्दै आएको जानकारहरु बताउँछन्।

नेपाली सेनाका अनुसार यो क्रम सन् १९५० देखि निरन्तर हुँदै आएको छ। सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जाबाट सम्मान गर्न सुरु गरिएको दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४५ बाट हो। सन् ०४५ मा तत्कालीन ब्रिटिस भारतका तर्फबाट सेनाप्रमुख सर क्लाउडेलाई तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले पहिलोपटक मानार्थ जर्नेलको उपाधिबाट सम्मान गरेका थिए। ०४५ अक्टोबर पहिलो साता ब्रिटिस सरकारका तर्फबाट जापानसँग युद्ध लडेका नेपाली सेनाको पल्टन स्वदेश फर्किएपछि २४ अक्टोबर ०४५ मा तत्कालीन ब्रिटिस भारतका सेनाप्रमुख सर क्लाउडेले नेपाल भ्रमण गरेका थिए। त्यस अवसरमा उनलाई मानार्थ जर्नेलबाट सम्मान गरिएको थियो।तर यो परम्परा राणा प्रधानमन्त्री वीर शमशेरकै पालादेखि सुरु भएको नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातको दाबी छ। उनी नेपाली गोर्खा सैनिकले तत्कालीन ब्रिटिस इन्डियाको मातहतमा काम गर्न थालेकाले प्रमुख सेनानीबाट सम्मान गर्न सुरु गरिएको बताउँछन्।

बस्न्यात वीर शमशेरले नेपालीलाई गोर्खा सैनिकमा काम गर्न प्रोत्साहन गरेबापत तत्कालीन ब्रिटिस इन्डियाका तर्फबाट नेपालका प्रमुख सेनानीलाई मानार्थ दर्जाबाट सम्मान गरेको उनको भनाइ छ। ब्रिटीश इन्डियाबाट सुरु भएको यो प्रचलन ब्रिटिसले भारत छोडेपछि पनि निरन्तरता पाउँदै आएको उनी बताउँछन्। यो क्रम राणा शासनको अन्त्यपछि केही समय रोकिएको र ब्रिटिशकै सल्लाहमा पछि भारतीय सेनाले राजा त्रिभुवनलाई मानार्थ महारथीबाट सम्मान गर्न खोजेको उनी बताउँछन्। तर, त्रिभुवनले महारथीको मानार्थ दर्जाबाट सम्मान हुन नमानेपछि तत्कालीन सेनप्रमुखलाई मानार्थबाट महारथीबाट सम्मान गर्न लगाइएको बस्न्यातले बताए। उनी नेपालको ९० प्रतिशत कूटनीतिक सम्बन्ध तत्कालीन ब्रिटिससँग भएकाले त्यो सम्मेलन लिनु जायज भए पनि ब्रिटिसले भारत छोडेसँगै यसको महत्व पनि सकिएको बताउँछन्।

नेपाली सेनाले प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने प्रचलनले दुई देशका सेनाबीच परम्परादेखि रहँदै सम्बन्धले निरन्तरता पाउने जनाएको छ। यसले दुई सेनाबीचको आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको दाबी छ। सैनिक प्रवक्ता यमप्रसाद ढकाल दुई देशका सेनाबीच लामो समयदेखिको परम्परालाई निरन्तरता दिन मानार्थ महारथीबाट सम्मान गर्ने प्रचलन भएको बताउँछन्। ढकाल नेपाली सेनाले यस्तो प्रचलनलाई नाफा वा घाटाको हिसाबले नहेरी दुईपक्षीय सम्बन्ध सुमधुर बनाउने हिसाबले मात्र हेर्ने गरेको बताउँछन्।

अवकाशप्राप्त सहायकरथी बस्न्यात नेपालका लागि दुवै छिमेकी बराबर भएकाले भारतसँग मानार्थ महारथीको सम्मान आदानप्रदान गर्दा चीनसँग पनि यस किसिमको सम्मान आदान प्रदानको अभ्यास गर्दा राम्रो हुने बताउँछन्। उनी दुई मुलुकसँगको सम्बन्धमा सन्तुलन ल्याउनका लागि चीनसँग पनि यस्तो किसिमको अभ्यास सुरु गर्न आवश्यक रहेको बताउँछन्।

भारतसँग मात्र यस किसिमको सम्बन्धले चिनियाँ पक्षमा चासो देखिन थालेको उनको भनाइ छ। चीन शक्तिशाली हुँदै गइरहेको अवस्थामा चीनसँगको सम्बन्धलाई सन्तुलित राख्न पनि दुईपक्षीय सम्मान आदानप्रदानको आवश्यकता रहेको उनी बताउँछन्। त्यसका लागि नेपालले प्रस्ताव गर्न सक्ने बस्नेतको धारणा छ।

प्रकाशित: ३० पुस २०७५ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App