१५ चैत्र २०८० बिहीबार
राजनीति

पार्टीमा फर्कन रवीन्द्रको आग्रह

काठमाडौ – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी फुटेको भोलिपल्ट पार्टीबाट अलग्गिएर गएकालाई पुन पार्टीमा फर्कन आग्रह गरेका छन्। पार्टी कार्यालय बखुण्डोलमा शनिबार पत्रकार सम्मेलन गरी मिश्रले पार्टीबाट छुट्टिएर गएका उज्ज्वल थापालगायत सबै नेताहरूलाई पुन पार्टीमा आउन आग्रह गरेका हुन्।

आफूबीच भएका मतभेदलाई वार्ताबाटै सामधान गर्न सकिने बताउँदै उनले भने, ‘आउनुहोस्। तपाई हामी एकैठाउँमा बसौँ। आपसमा देखिएका मतभेदहरू वार्ताबाटै सामधान गराैँ।’ पार्टी विभाजनपछि पार्टी छाड्नेसँग औपचारिक संवाद नभएको उनले बताए। अहिले आफूहरू वैकल्पिक शक्ति निर्माणका क्रममा लागेको बताउँदै यस्तो बेला आफू अपरिपक्व भएको हुन सक्ने उनले बताए। यस्ता कमीकमजोरी छलफलबाट सच्चाउँदै जाने पनि उनले बताए। पार्टी विभाजले वैकल्पिक शक्ति निर्माणमा अवरोध आउने उनले बताए।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य केही बेर भक्कानिएका थिए। करिब १७ महिनापछि शुक्रबार पार्टी विभाजन भएको थियो। गत वर्ष मात्र उज्ज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकीकरण भई विवेकशील साझा पार्टी गठन गरिएको थियो। शुक्रबार पार्टीका ३५ केन्द्रीय सदस्यमध्ये १६ जनाले नयाँ दल दर्ताको निर्वाचन आयोगमा निवेदन दिएका हुन्। उज्वल थापाको अगुवाइमा १६ केन्द्रीय सदस्यले शुक्रबार विवेकशील नेपाली दल दर्ता गर्न निवेदन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

निवेदन दिनेहरूमा संयोजक थापा, रञ्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापालगायत केन्द्रीय सदस्य रहेका छन्। यसअघि पार्टीमा संयोजक रवीन्द्र मिश्र र थापाबीच पार्टीको आगामी रणनीति र नेतृत्वको भूमिकालगायत विषयमा गम्भीर मतभेद उत्पन्न भएको थियो। यस विषयमा छलफल गर्न आगामी पुस ३० केन्द्रीय समितिको बैठक बोलाइएको थियो तर सो बैठकअघि नै पार्टी विभाजित भएको छ।

प्रकाशित: २९ पुस २०७५ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App