७ वैशाख २०८१ शुक्रबार
राजनीति

कहिल्यै मिलेनन् पौडेल र जोशी

तनहुँ – गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे। निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका जोशी र उनका प्रस्तावक र समर्थकसमेतलाई पार्टीले कारबाही गरेपछि पौडेल–जोशी विवादको चर्चा झनै चुलिएको छ। कांग्रेस तनहुँले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै जोशी र उनका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि निर्वाचनअगावै सिफारिस गरेको थियो।

तर, पुस २४ गते कांग्रेस केन्द्रीय कार्यालयले तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेलाई पत्र लेख्दै संघीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई कारबाही भएको जानकारी दिएको छ। पार्टी निर्णयविरुद्ध उत्रिँदा जोशीसहित रामदेव पन्त र हरिशरण पण्डितसमेत कारबाहीमा परेका छन्। पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिँदा पन्त प्रस्तावक र पण्डित समर्थक बनेर सघाएका थिए। तीनैजना नेतालाई ५ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको छ।

कांग्रेस तनहुँको विस्तारित बैठकले सपार्टीको विधान र मूल्यमान्यताको मानमर्दन हुनेगरी आयोजना हुने कुनै पनि गतिविधिमा नलाग्न सम्पूर्ण सदस्यलाई अनुरोध गरेको छ। बैठकले यस्तो निर्णय गरे पनि पार्टीका पूर्वसहमहामन्त्री जोशीले माघ ८ गते विशेष जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेका छन्। माघ ८ गते विशेष अधिवेशन गर्ने भन्दै जोशी समर्थकले पुस ६ गते डिल्लीराम अधिकारीको संयोजकत्वमा महाधिवेशन आयोजक समितिसमेत चयन गरेका छन्। अधिवेशनका लागि भन्दै जोशी पक्षले विशेष जिल्ला अधिवेशन आयोजक समितिको कार्यालयसमेत स्थापना गरेको छ।

पौडेल र जोशी पार्टीका कार्यक्रममा एकसाथ विरलै देखिन्छन्। दुवैले २०५१ सालको निर्वाचनमा सँगसँगै भोट मागेका थिए। दुवैजना २०७४ सालको स्थानीय निर्वाचनमा भानुको टुहुरेपसलमा एउटै मञ्चमा देखिएका थिए।

उक्त समितिले विशेष अधिवेशनको तयारी थालेको छ। जोशी स्वयं विशेष अधिवेशन गर्नुपर्छ भन्दै नेता तथा कार्यकर्तालाई साथ दिन आग्रह गरेका छन्। दुई साताअगाडि जिल्लाका निकट व्यापारी तथा पार्टी कार्यकर्तालाई विशेष अधिवेशन सफल बनाउन सहयोग गर्न आह्वान रेका थिए उनले। पुस ६ गते दमौलीमा पत्रकार सम्मेलन गरेर अहिलेको जिल्ला नेतृत्व असक्षम भएको भन्दै नेतृत्व परिवर्तन गर्न विशेष अधिवेशन गर्ने जोशीले बताएका थिए।

जोशीले विशेष अधिवेशन आह्वान गरे पनि पार्टीको नियमअनुसार विशेष अधिवेशन हुन नसक्ने राजनीतिक विश्लेषक वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले बताउँछन्। ‘अहिले कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पार्टीको जिल्ला विशेष अधिवेशन गर्ने भन्नुभएको छ, उक्त प्रक्रिया पार्टीको नियमअनुसार भने देखिँदैन,’ उनले भने, ‘पार्टीविरुद्ध गएर जोशीले निर्णय गरेका छन्। यो पार्टीका लागि पटक्कै राम्रो होइन।’ कांग्रेसको जिल्ला कार्य समितिले विशेष कारणले निर्णय गरेर विशेष अधिवेशन गर्ने निर्णय गरेको खण्डमा मात्रै त्यो विशेष अधिवेशन हुने उनले बताए। ‘जोशीले क्रियाकलाप नै विशेष अधिवेशनका लागि वैधानिक देखिँदैन,’ वाग्लेले भने।

पौडेल र जोशी कहिल्यै मिलेनन्
कांग्रेसका वरिष्ठ नेता पौडेल र पूर्वसहमहामन्त्री जोशीबीच कांग्रेसको इतिहासमै सुमधुर सम्बन्ध रहेनन्। उनीहरू प्रायः एक कार्यक्रममा सँगसँगै बसे पनि कार्यकर्ताका लागि नौलो हुने गर्छ। कांग्रेसका क्षेत्रीय प्रतिनिधि रामप्रसाद मिश्र भन्छन्, ‘पौडेल र जोशी २०५१ सालको निर्वाचनमा सँगसँगै भोट मागेको देखेको बाहेक सम्बन्धमा सुधार आएन।’ त्यो बेला जोशी तनहुँ–१ मा उम्मेदवार हुँदा पौडेल जोशीकै लागि भोट माग्दै पोखरीछापमा हिँडेको भेटेको उनले सम्झिए।

‘उहाँहरू निकै कम मात्रामा एउटै मञ्चमा बसेको देखेको छु,’ उनले भने। त्यस्तै २०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा समेत भानुको टुहुरेपसलमा नेता पौडेल र जोशी एउटै मञ्चमा बसेर कांग्रेसबाट भानु नगरपालिकाका मेयरका प्रत्यासी उदयराज गौलीलाई जिताउन भोट मागेका थिए। त्यसबाहेक निकै कम कार्यक्रममा मात्रै यी दुई नेता सँगसँगै सहभागी भएको कांग्रेसका कार्यकताको भनाइ छ।

पौडेल व्यास–८ स्थित बाहुनपोखरामा जन्मिएका हुन् भने जोशी भानु नगरपालिका– ११ रूपाकोटमा जम्मिएका हुन्। दुवै नेता एकै क्षेत्रका बासिन्दा भए पनि उनीहरूबीचको राजनीति सबै टकरावमा बितेको कार्यकर्ता बताउँछन््। सुमधुर सम्बन्ध नभए पनि अघिल्ला निर्वाचनमा आआफ्नो क्षेत्रमा लड्दै आएका दुई नेताबीच पछिल्लो प्रतिनिधिसभाको निर्वाचन सम्बन्ध बिग्रनुमा कारक बन्यो।

जिल्लालाई तीनवटा निर्वाचन क्षेत्रबाट घटाएर दुईवटामा झर्दा दुवै नेताको रोजाइ तनहुँ–१ मा पर्यो। गत वर्ष पार्टीको निर्णय अनुसार पौडेलले निर्वाचनका लागि टिकट पाएपछि जोशीले असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसले दुई नेताबीचको दूरी झनै बढायो।

प्रकाशित: २८ पुस २०७५ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App