८ वैशाख २०८१ शनिबार
राजनीति

डा.केसीका ९५ प्रतिशत माग पूरा भएका छन् : नेम्वाङ

इलाम - सत्याग्रहमा रहेका डा.गोविन्द केसीका ९५ प्रतिशत माग पूरा भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दाबी गरेका छन्। साउन १० मा डा.गोविन्द केसीसँग सहमति गरी जुस पिलाउन सरकारको प्रतिनिधिका रूपमा पुगेका नेम्वाङले कुनैपनि आन्दोलनको उपलब्धि ९५ प्रतिशतभन्दा बढी प्राप्त नहुने पनि बताए।

‘संसदीय समितिले पास गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले डा.केसीका ९५ प्रतिशत माग पूरा गरिसकेको छ,’ उनले नागरिकन्युजसँग भने, ‘म पनि धेरैपटक आन्दोलन गरेरै आएको हुँ, कुनैपनि आन्दोलनमा ९५ प्रतिशत माग पूरा हुनु ज्यादै ठुलो सफलता हो। डा.केसी स्वास्थ्य क्षेत्र सुधार आन्दोलनमा सफल भइसक्नुभएको छ।’ नेम्वाङले पूरा हुन बाँकी भनिएको ५ प्रतिशत पनि पूर्वसहमतिकै ‘स्पिरिट’मा रहेको बताए। ‘अहिले डा.केसीले इलाममा पनि मेडिकल कलेज र अस्पताल खुल्नुपर्ने माग गर्नुभएको छ, संसदीय समितिले पास गरेको विधेयकको आशय पनि काठमाडौं बाहिर इलामजस्ता ठाउँमा सरकारी मेडिकल कलेज खोल्नकै लागि हो,’ उनले थपे, ‘सहमति भन्दा फरक रहेका विषय विधेयकमा भए पुनः छलफलका लागि आउन डा.केसीलाई आग्रह गर्छु।’

जुम्लामा २७ दिन सत्याग्रहमा बसेका बेला काठमाडौं ल्याइएका डा.गोविन्द केसी र सरकारका प्रतिनिधिबीच साउन १० मा २२ बुँदे सहमति भएको थियो। सहमतिपछि सत्याग्रह तोड्ने बेला नेम्वाङ र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाले संयुक्त रूपमा डा.केसीलाई जुस खुवाएका थिए।

डा.केसी बुधबारदेखि इलाममा १६ औं सत्याग्रहमा छन्। उनले गत साउन १० मा सरकारसँग भएको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय समितिले पारित गरेपछि ६ बुँदे मागसहित अर्काे चरणको सत्याग्रह थालेका हुन्।

प्रकाशित: २७ पुस २०७५ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App