coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडाैं–टोकियो सिधा हवाई सेवा सुरु हुने, जापानसँगकाे श्रम सम्झाैता चाँडै

तस्बिर : रासस

काठमाडौं - नेपाल र जापानबीच सीधा हवाई उडान हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोबीच बुधबार दुई देशबीच हवाईसेवा सम्झौता संशोधनपत्रमा हस्ताक्षर भएसँगै नेपाल वायुसेवा निगमका जहाजले सीधै जापान उडान गर्न पाउने भएका छन्।

यसअघि काठमाडौं–ओसाका उडान भए पनि केही वर्षदेखि रोकिएको थियो। यसअघि सन् १९९३ मा हस्ताक्षर गरिएको सम्झौतालाई संशोधन गरी हस्ताक्षर भएको हो। अब निगमको जहाजले आगामी फेब्रुअरीदेखि जापानका विभिन्न सहरमा उडान गर्न पाउनेछन्। सहमतिअनुसार जापानको केही साँघुरो रहेको हानेदाबाहेक अन्य विमानस्थलमा नेपाली विमानले उडान भर्न पाउनेछन्। नेपालबाट सातामा १४ वटा विमान जापान उड्न पाउनेछन्।

निगमको सीधा उडानले जापानी पर्यटक आगमनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौतापछि वायुसेवा निगमको प्रत्यक्ष उडान छिटोभन्दा छिटो सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको जापानी विदेशमन्त्री तारो कोनोले बताए। उनले त्यसका लागि नेपाल सरकारसँग निरन्तर सहयोग र सहकार्य गर्न जापान तयार रहेको बताए।

जापानी परराष्ट्रमन्त्रीसँगको भेटमा नेपाली श्रमिक जापान पठाउने सहयोगपत्र जतिसक्दो छिटो आदानप्रदान गर्ने सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। दुई देशका परराष्ट्रमन्त्रीबीच भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले श्रमिकका लागि नेपाललाई स्रोत मुलुकका रूपमा छनोट गरेकोमा जापान सरकारलाई धन्यवाद दिए।

जापानी विदेशी मन्त्रालयकी सहायक प्रवक्ता नात्सुको साताकाले दुई देशबीच अनुपम सम्बन्ध रहेकाले नेपालको विकासमा सघाउन तत्पर रहेको बताइन्। उनले भनिन्, ‘जापान नेपाललाई सन् २०३० सम्म मध्य आय मुलुकको हैसियतमा पुर्याउन हामी सघाउन तत्पर छौं। हाम्रो बीचमा नियमित द्विपक्षीय सम्बन्धका कुरा भइरहेका छन्।’

उनले तेस्रो द्विपक्षीय बैठक टोकियोमा हुने जानकारी दिइन्। उनले भनिन्, ‘नेपाल–जापानबीचको कनेक्टिभिटीका लागि हामी काम गर्न हामी तयार छौं।’ उनले आगामी महिना नेपालको उच्च कृषि वस्तुहरूका बारेमा सर्वेक्षण गर्न जापानी टोली आउने जानकारी दिइन्। जापानले सन् २०२१ को ओलम्पिक खेलअघि नै नेपाली खेलाडीलाई तालिममा बोलाउने भएको छ। उनले नेपाली कामदारलाई कृषि र स्वास्थ्य क्षेत्रका दक्ष कामदारलाई बोलाउने बताइन्। सात वर्षपछि भएको जापानी विदेशमन्त्रीको भेटमा दुई देशका अधिकारीबीच नेपाल भ्रमण वर्ष सफल बनाउन जापानमा नेपालको प्रचारप्रसार गर्ने संयुक्त प्रयासबारे छलफल भएको थियो।

दुई देशका परराष्ट्रमन्त्रीका बीचमा द्विपक्षीय परामर्श बैठक आयोजना गर्ने सम्बन्धी सहयोगपत्रमा पनि हस्ताक्षर भएको छ। सहयोगका कार्यविधिमा छलफल गर्न, द्विपक्षीय सम्बन्धका सबै पक्षको समिक्षा गर्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा साझा चासोका क्षेत्रीय एवं अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने विषयमा छलफल भएको छ।

दुई पक्षीय भेटमा पूर्वाधार निर्माण तथा कनेक्टिभिटी तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा पनि छलफल भएको छ। नेपालका प्राथमिकताका क्षेत्रमा जापानी लगानी तथा आगामी मार्चमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी जापानी लगानीकर्ता तथा उद्यमीको सहभागिताका विषयमा पनि छलफल भएको छ।

जापानले नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्दै सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको मन्त्री ज्ञवालीले जानकारी दिए। भेटमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन निरन्तर उच्चस्तरीय भ्रमणको आदानप्रदान हुनुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।

जापानका विदेशमन्त्री तारोले भेटमा दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने, विकासका कुरा र क्षेत्रीय अवस्थाबारे आआफ्ना विचार आदानप्रदान भएको बताएका छन्। विदेशमन्त्री तारो भारत भ्रमण सकेर नेपाल आएका हुन्। उनी नेपाल भ्रमण सकेपछि फान्स हुँदै रुस जाने कार्यक्रम छ।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ देखि औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ। सन् २००० मा जापानका प्रधानमन्त्री योसिरो मोरीको औपचारिक नेपाल भ्रमण गरेपछि उच्चस्तरीय भ्रमण हुन सकेको छैन। त्यसअघि सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापान भ्रमण गरेका थिए।

तर दुई मुलुकबीच परराष्ट्रमन्त्रीस्तरीय भ्रमण भने निरन्तर हुँदै आएको छ। सन् २०१२ मा जापानी विदेशमन्त्री कोइचिरो गेन्बाले नेपाल भ्रमण गरेका थिए। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सन् २०१४ मा जापान भ्रमण गरेका थिए। परराष्ट्रमन्त्री पाण्डेले सन् २०१५ मा पनि जापान भ्रमण गरेका थिए। वैशाख १२ को भूकम्पपछि नेपालले आयोजना गरेको दाता सम्मेलनमा जापानका विदेश राज्यमन्त्री मिनोरु क्युची आएका थिए। सन् २०१६ मा जापानका विदेश राज्यमन्त्री नोबुओ किसीले नेपाल भ्रमण गरेका थिए।

परराष्ट्रमन्त्री ज्ञवालीले गत मंसिर १ देखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गरेका थिए। मन्त्री ज्ञवालीकै निमन्त्रणामा विदेशमन्त्री तारो नेपाल आएका हुन्।

प्रकाशित: २५ पुस २०७५ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App