१६ चैत्र २०८० शुक्रबार
राजनीति

अब १० वर्ष समृद्धिको निम्ति काम गरेर माथि जाने विचार छ : अध्यक्ष दाहाल

चितवन महाेत्सवमा सम्बाेधन गर्दै अध्यक्ष दाहाल। तस्बिर : सविता/नागरिक

चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्ष देशको समृद्धिका निम्ति काम गर्ने चाहना भएको बताएका छन्। देशलाई नमुना बनाउन र समृद्धिमा लैजान अझै दश बर्ष काम गर्ने उनले बताए। बुधबार १२ औं चितवन महोत्सव २०७५ को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको साथमा आउने दश वर्ष भित्रमा देशलाई नमुना बनाउने चाहना रहेको भनाई व्यक्त गरे।

‘म आशा गर्छु, जुन अभियान मैंले सोचेको छु, मेरो सपना हो’ भावुक हुँदै कार्यक्रममा उनले भने, ‘अब दश वर्ष समृद्धिको निम्ति काम गरेर माथि जाने विचार छ।’ चितवन सिंगै राष्ट्रको केन्द्र बन्न सक्ने संभावना रहेकाले जिल्लाको विकास समग्र राष्ट्रको विकाससँग सम्बन्धित रहेको उनले बताए। उनले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यबाट मात्रै समृद्धि प्राप्त हुने धारणा व्यक्त गरे।

नीजि क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पुरा हुन नसक्ने उनले बताए। सरकार र नीजि क्षेत्रबीच घनिष्ट सम्बन्ध हुने भएकाले सहकार्यबाट मात्र समृद्धि हासिल गर्न सकिने उनको भनाई छ। पहिले जस्तो केही राजनीतिक दुविधा र विकासलाई गति दिने मार्गचित्रका बारेमा समेत अहिले दुविधा नरहेको उनले औंल्याए।  ‘मिलेर संविधान बनाईसकेपछि राजनीतिक द्वन्द्व र भ्रमको स्थितीको समापन भएको छ’ उनले भने, ‘राजनीतिक स्थायित्वको निम्ति बलियो सरकारको आधारशिला खडा गरिसकिएको छ।’

उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समितिले आयोजना गरेको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन समारोहमा नेपाली र अंग्रेजी भाषामा प्रकाशन गरिएको चितवन जिल्ला पर्यटकीय निर्देशिका विमोचन गरिएको छ। किताबमा जिल्लामा रहेको ५० वटा पर्यटकीय गन्तब्यको बारेमा जानकारी समेटिएको महोत्सव आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए। महोत्सव उद्घाटनपूर्व आयोजित शोभा यात्राको अध्यक्ष दाहालले  बेलुन उडाएर उद्घाटन गरेका थिए। दुई वर्षको अन्तरमा हुँदै आएको महोत्सवमा यस पटक कृत्रिम चिडियाखाना बनाईएको छ। 

 

प्रकाशित: २५ पुस २०७५ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App