८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ५ गाडी खरिद प्रकरण : सार्वजनिक लेखाले कागजपत्र मगायो

रुपन्देही - प्रदेशसभाले खरिद गरेको गाडीको मूल्यमा फरक देखिएपछि सार्वजनिक लेखा समितिले छानविन गर्ने भएको छ। प्रदेशसभाले खरिद गरेको गाडीमा लाखौंको अनियमितता भएको समाचार सार्वजनिक भएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिले चासो देखाएको हो।

समितिले प्रदेशसभा र विभिन्न मन्त्रालयहरुले खरिद गरेको गाडीको सम्पूर्ण कागजपत्र, विल तथा त्यसको प्रक्रियाका कागजपत्र २७ गते शुक्रबार मध्यान्ह १२ बजेसम्म संसद सचिवालयमा ल्याउन निर्देशन दिएको छ। ‘गाडी खरिद प्रक्रियाको सम्पूर्ण कागजपत्र र विल मगाइएको छ’ सार्वजनिक लेखा समितिका सभापति डिल्लि बहादुर चौधरीले भने। उनका अनुसार २७ गते दिउँसो २ बजे सार्वजनिक लेखा समितिको बैठक बोलाइएको छ। त्यो बैठकले प्रदेशसभा र मन्त्रालयले खरिद गरेका गाडीका विषयमा गहन रुपमा छलफल गर्ने संयोजक चौधरीले बताए। उनले बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई बोलाएर छलफल गरिने बताए। मन्त्रीसँग छलफल गरेपछि गाडी खरिदका बिषयमा छुट्टै छलफल गर्ने तयारी गरिएको छ। ‘सार्वजनिक चासोको बिषय भएकाले गाडीका विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने।  बैठकपछि गाडी खरिदमा देखिएको अनियमितताका बिषयमा छुट्टै छानविन समिति पनि गठन गर्न सक्ने सभापति चौधरीले बताए।

प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको ११ वटा टाटा स्ट्रोम गाडी बजार मूल्य भन्दा महंगोमा किनेको पाइएको हो। प्रदेशसभाले प्रति गाडी ७१ लाख ९४ हजार मूल्यमा खरिद गरेको छ। सफल अटो मोबाईल बुटवलबाट प्रदेशसभाले उक्त गाडी खरिद गरेको हो। सफलले सो गाडी  ६८ लाख ५५ हजारमा सर्वसाधरणलाई विक्रि गर्दै आएको छ। कर, एक बर्षको बीमा समेत सोही मूल्यमा कायम गरिएको छ। प्रदेशसभाले खरिद गरेको गाडीमा भने बीमा शुल्क छुट्टै तिर्नुपर्छ।  टाटाको स्ट्रोम भिएक्स सफारी त्यति टिकाउ नभएकाले यसको विक्रि न्यून छ। विक्रि कम भएकाले पनि अहिले स्ट्रोमको मूल्य छुट दिएर विक्रि गर्दै आएको कम्पनीहरुले बताएका छन्। तर प्रदेशसभाले १४ वटा गाडी खरिदका लागि टेन्डर खुलाएको थियो। 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पनि एउटा टाटा स्ट्रोम गाडी खरिद गरेको छ। उसले ७२ लाख ९९ हजार रुपैयाँमा खरिद गरेको हाे। मन्त्रालयले खरिद गरेको र प्रदेशसभाले खरिद गरेकाेमा १ लाख ५ हजारको अन्तर देखिएको छ। भौतीक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, सामाजिक विकास मन्त्री सुदर्शन बराल, उद्योग,  पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले पनि स्ट्रोम गाडी नै चढेका छन्। यी सबै मन्त्रालयले प्रदेशसभाले भन्दा धेरै मूल्य तिरेर गाडी खरिद गरेका छन्। प्रदेशसभा र विभिन्न मन्त्रालयमा गरि २५ करोड बराबरको गाडी खरिद गरिएको छ।

प्रक्रियागत त्रृटि छैन : प्रवक्ता चौधरी 
सरकारका प्रवत्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले इबिडिङ मार्फत खरिद गरिएकाले प्रक्रियागत त्रृटि नभएको बताएका छन्। उनले आफू पनि स्ट्रोम गाडी नै चढ्ने गरेको बताउँदै यसको खरिदमा आफूहरुले तोक आदेश मात्रै रहेकाे बताए। उनले खरिद तोकिएको कानुन अनुसार भएको बताए। ‘हामीले तोक लगायौं, यसको खरिद नै इबिडिङबाट हुन्छ, अनियमितता कसरी हुन्छ’ उनले भने। 

प्रकाशित: २५ पुस २०७५ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App