१६ चैत्र २०८० शुक्रबार
राजनीति

विपक्षीप्रति सभामुख अनुदार

काठमाडाैँ - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा विपक्षी दलप्रति अनुदार देखिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको समय माग गर्दै रोस्टम घेराउ गरिरहेकै अवस्थामा सभामुख महराले त्यसलाई बेवास्ता गरी संसद्मा विधेयक पेस गर्न लगाएका हुन्। प्रतिपक्षी कांग्रेसको नाराबाजीका बीच सभामुख महराले अर्थ समिति सभापति कृष्ण दाहाललाई निवृत्ति भरणसम्बन्धी विधेयक संसद् बैठकमा जबरजस्ती पेस गर्ने लगाएका थिए।

प्रधानमन्त्री ओली आइतबारको संसद् बैठकमा सम्बोधन गरेलगत्तै कांग्रेस सांसदहरुले उनीसँग प्रश्नोत्तरका लागि समय मागेसहित उभिएका थिए। सभामुख महराले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि संसद् नियमावलीमा अर्कै व्यवस्था गरेको जानकारी गराउँदै पटकपटक कांग्रेस सांसदहरूलाई बोल्न आग्रह गरे। तर, नियमावलीको व्यवस्थाअनुसारै प्रधानमन्त्रीसँग प्रश्न गर्ने अधिकार रहेको र प्रधानमन्त्रीको विशेष सम्बोधन भए संसद् बाहिरबाट किन नगरेको भन्दै कांग्रेस सांसदहरु मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, गगनकुमार थापाले प्रश्न गर्न पाउनुपर्ने जिकिर गरे। सभामुखले संसद् बैठक नियमावलीको परिच्छेद ८ र ९ को दफा ५० देखि ६० सम्मको व्यवस्थाको स्मरण गराए। तर, सांसदहरुले चित्त नबुझाएपछि सभामुख महराले सीमित व्यक्तलाई मात्र प्रश्नोत्तरमा सहभागी गराउन सक्ने भन्दै सांसद मीनेन्द्र रिजाललाई एक मिनेट समय दिएका थिए। रिजालसहितका कांग्रेस सांसदहरुले सीमित व्यक्ति नभएर सबैले प्रश्न गर्न पाउने अधिकार रहेको जिकिर गर्दै समय दिन आग्रह गरिरहेका थिए। तर, सभामुख त्यसका लागि राजी देखिएनन्। कांग्रेस सांसदहरूले सबैले प्रश्न गर्न पाउनुपर्ने बताइरहँदा महासचिव मनोहर भट्टराईसँग संसद् बैठक अघि बढाउने विषयमा राय लिँदै रोकिदिऊँ भन्दै सल्लाह मागेका थिए।

त्यसलगत्तै सभामुख महराले भने, ‘त्यसो भए माननीय सदस्यहरू प्रश्नोत्तर गर्ने समय मैले दिइनँ।’ उनले दाहाललाई विधेयक पेस गर्न समय दिए। प्रतिपक्षीको आग्रह अस्वीकार गर्दै सभामुख कार्यसूचीमा अघि बढेपछि कांग्रेस सांसदहरू रोस्टम घेराउसहित नाराबाजीमा उत्रिए। विधेयक पेस गर्न रोस्टम पुगेका दाहाल अलमलमा परिरहेका बेला सभामुखले मन्त्रीज्यू भन्दै विधेयक पेस गर्न फेरि आग्रह गरे। सभामुख महरा आफैं अलमलमा परी अर्थ समिति सभापतिलाई मन्त्रीज्यू भनेका थिए। संसद् बैठक चलिरहेका बेला एकजना सदस्य उठेर विरोध जनाए पनि कुनै कार्यसूची अगाडि नबढाइने प्रचलन रहेको सुनाउँदै कांग्रेस नेता रामहरि खतिवडाले भने, ‘यो संसदीय अभ्यास नजान्नेको नयाँ प्रयोग हो।’ संविधानसभा बैठकमा भने सांसदहरुले नाराबाजी गरिरहे पनि सभाध्यक्षले पेलेर बैठक सञ्चालन गरेको स्मरण खतिवडाले गरे।

प्रतिपक्षीको नाराबाजीबीच दाहालले संसद् बैठकमा विधेयक पेस गरेलगत्तै सभामुखले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरे पनि दोस्रो बैठक बस्न सकेन। महासचिव मनोहर भट्टराईले प्रतिनिधिसभाको बैठक पुस २५ गते बस्नेगरी स्थगित भएको सूचना निकालेका छन्। करिब १० मिनेटको नाराबाजीबीचमा दाहालले निवृत्तभरण कोष विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५ र भुक्तानी तथा फस्र्योट विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५ पेस गरेका थिए। कार्यसूचीमा अन्य विषय पनि थिए। तर, ती विषयलाई कार्यसूचीबाट हटाएको घोषणा नगरीकन उनले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

सभामुखको उक्त कदमलाई प्रतिपक्षी कांग्रेसले हुकुमी शैलीको संज्ञा दिएको छ। संसद्को अनुहार सभामुखमा देखिनुपर्ने जनाउँदै कांग्रेस सांसद रिजालले भने, ‘सभामुख संसद्प्रति जिम्मेवार देखिनु भएन। नियमावली २१९ को प्रक्रिया प्रारम्भ भयो त्यहाँ प्रश्न गर्न पाइन्छ हामीले सभामुखकै विवेकले प्रश्न गर्न पाउनुपर्ने हो। तर उहाँले संसद्प्रति उत्तरदायित्व देखाउनुभएन।’

प्रधानमन्त्री ओलीले संसद् छल्ने प्रयास गरेको र त्यसमा सभामुखले साथ दिएको आरोप लगाउँदै रिजालले भने, ‘संसद्मा उठेको प्रश्नको जबाफ नदिने हो भने बालुवाटारमा सम्बोधन गरे भैगो नि !’

सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई वक्तव्य पढ्न दिने तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्ने सभामुखको शैली हुकुमी भएको आरोप लगाए। संसद् बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले भने, ‘सरकारलाई आफ्नो कुरा राख्न दिने तर प्रतिपक्षीलाई प्रश्न गर्न दिन्न भन्ने सभामुख, सभामुख कि पार्टी सदस्य ?’ थापाले सरकारले तथ्य तोडमोड गरेर प्रस्तुत गरेको आरोप लगाए। उनले भने, ‘प्रश्न राख्न खोज्दा सभामुखले ढाकछोप गर्न खोज्नुभयो, हामीले पाँच जनाको नाम दिएका थियौं। तर पछि सभामुखले सत्तापक्षसँग मिलेमतो गर्नुभयो। हुकुमी शैलीमा संसद चलाउन खोज्नुभयो।’

प्रकाशित: २३ पुस २०७५ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App