coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसको अवरोधपछि गले सभामुख, अर्काे बैठकमा प्रधानमन्त्रीसँग सवाल जवाफ हुने

काठमाडौं– संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीसँग सवाल जवाफ गर्न दिने निर्णय गरेका छन्। 

आइतवारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। सम्बोधनमा वाइड बडी लगायत महत्वपूर्ण विषय छुटेको भन्दै कांग्रेस सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न खोज्दा सभामुखले समय दिएनन। कांग्रेस सांसद गगन थापाका अनुसार सभामुखले प्रधानमन्त्रीको सम्बोधनमा प्रतिपक्षी ५ सांसदलाई प्रश्न सोध्न दिन अनुमति दिएका थिए। तर सम्बोधनका क्रममा भने बोल्नै नदिएपछि कांग्रेस सांसदले होहल्ला गरी रोष्टम घेराउ गर्दै बैठकमा अवरोध गरे। अवरोधपछि बैठक स्थगित गरियो। 

बैठक स्थगित भएपछि कांग्रेस प्रमुख सचेतकसहित सांसदहरु र सभामुख महराबीच छलफल भयो। छलफलमा कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनका क्रममा उठेका विषयमा प्रश्न राख्न नदिएसम्म अवरोध गरिरहने चेतावनी दियो। प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल गर्न पाउनुपर्ने माग गरे। कांग्रेसको अडानपछि सभामुख महराले आगामी बैठकमा प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल जवाफ हुने सहमति जनाएको प्रमुख सचेतक खाँडले जानकारी दिए।

‘सभामुखसँग आगामी बैठकमा प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल जवाफ हुने सहमति भएको छ’, खाँणले भने। 

यसअघि संसद बैठकका क्रममा प्रधानमन्त्री ओलीले वाइड बडी विमान खरिदलगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै सांसद गगन थापाले विरोध जनाएका थिए।

प्रधानमन्त्री ओलीले बैठकमा सार्वजनिक महत्वका विषयमा बोल्दा विमान खरिदको विषय, सिक्टा सिँचाइ आयोजना सञ्चालनमा भएको ढिलासुस्ती र बुढीगण्डकी परियोजनाका बारेमा सदनमा नबोलेको भन्दै उनले विरोध गरे।  

सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्रीले आफ्ना धारणा राखेपछि प्रतिपक्ष दलका सांसदले प्रश्न गर्न पाउनुपर्ने माग राखेका थिए। प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अवसर नपाएको भन्दै उनीहरुले विरोध गरेका थिए। नेता थापाले सार्वभौमसत्ता सम्पन्न जनताले सांसद, अख्तियार, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, न्यायालयका बारेमा प्रश्न गर्न पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाए। 

प्रतिनिधिसभाको अर्को बैठक पुस २५ गते बुधबार दिनको १ बजे बस्ने छ।

प्रकाशित: २२ पुस २०७५ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App