coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुखमाथि खनिए गगन, नेकपाको कार्यकर्ता नबन्न चेतावनी

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सभामुख पार्टीको कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप लगाएका छन्। सभामुख कृष्णबहादुर महराले पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएकाले आफूहरुले संसदमा अवरोध गरेको उनको भनाई छ।

‘प्रधानमन्त्रीलाई बोल्न दिने, तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्नु सभामुखको शैली हुकुमी हो। प्रश्न गर्न दिन्न भन्ने उहाँ सभामुख हो कि पार्टी सदस्य?’ कांग्रेसको अवरोधले बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘सभामुखज्यूले सभामुखको कुर्सीमा बसेर पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले हामी विरोधमा उत्रिएका हौं।’

समसामयिक विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेका थिए। सम्बोधन गर्नुअघि सभामुखसँग कांग्रेसका ५ सांसदले प्रश्न सोध्ने पूर्वसहमति भएको बताउँदै सांसद थापाले सत्तापक्षको मिलेमतोमा समय नदिएको आरोप लगाए।

सरकारले विभिन्न तथ्य तोडमोड गरेर प्रस्तुत गरेकाले आफूहरुले प्रश्न गर्नका लागि समय मागेको तर सभामुखले पार्टी कार्यकर्ता जसरी समय नदिएर हुकुमी शैलीमा संसद चलाउन खोजेको उनको टिप्पणी छ। थापाले भने, ‘सरकारलाई हाम्रो प्रश्नको सामना गर्नु थिएन भने सिंहदरबारबाट वक्तव्य दिए भइहाल्थ्यो, संसदमा किन आउनुपथ्र्यो?’

नेता थापाले प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएसम्म संसदमा आफूहरुको विरोध जारी रहने स्पष्ट पारे। 

प्रकाशित: २२ पुस २०७५ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App