८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारको रोडम्यापमा कमजोरी छ : रायमाझी

इलाम - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले चुनावी घोषणापत्रका कतिपय विषयमा पार्टी पनि चुकेकाले सरकारको आलोचना भइरहेको बताएका छन्। उनले सरकार र नेकपाको कमजोरी पक्ष खोतलेर विपक्षीले टिप्पणी गरेको बताए।

‘बृद्धभत्ता ह्वात्तै बढाउनेजस्ता केही विषय पूरा गर्न कठिन हुँदाहुँदै पनि पार्टीभित्र व्यापक छलफल हुन नपाएकै हो,’ आइतबार सदरमुकाममा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै उनले भने, ‘वर्तमान सरकारको रोडम्यापमा पनि कमी–कमजोरी छन्। त्यसैलाई टेकेर विपक्षी मात्रै होइन, पार्टीभित्रसमेत सरकारको आलोचना भइरहेको छ। तर, त्यसलाई अब सुधारेर जानुपर्छ।’

उनले भर्खरै सकिएको पार्टी स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि लामो छलफल भएको बताए। ‘बैठकमा राम्रोगरी बहस–छलफल भएको हो तर बाहिर चर्चामा आएजस्तो नेताहरूबीच वैचारिक र राजनीतिक कुनै मतान्तर चाहिँ होइन,’ उनले भने, ‘पार्टीभित्र बहस पहिला पनि हुन्थ्यो तर बाहिर आउँदैनथ्यो, अहिले प्रविधिको विकास भइसकेको छ, बैठकमा के भयो भन्ने नै बाहिर आइरहेको हुन्छ, फरक त्यति मात्र हो।’

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले वर्तमान सरकार पुराना सरकारजस्तो देश सञ्चालनको निरन्तरताका लागि मात्रै गठन नभएर नयाँ संविधान र संघीयता कार्यान्वयनको जिम्मेवारी सहित आएकाे बताए। उनले विकास र समृद्धिको बाटोमा अघि बढेको सरकारले लक्ष्य पूरा गर्ने बताए। ‘तीन तहका सरकार, बजेट र नयाँ संविधान कार्यान्वयनको व्यवस्थापन अहिलेको सरकारको जिम्मेवारी हो,’ उनले भने, ‘सयौं कानुन बनाउन बाँकी छन्, पार्टी एकता र सरकार सञ्चालन दुवैको जिम्मेवारी नेकपालाई भएकाले कतिपय काममा ढिलाइसमेत भइरहेको छ।’

उनले पुसभित्र पार्टी एकता टुंग्याएर नेकपा जागरण अभियानमा निस्किने बताए। ‘पार्टी एकताको सन्देश सबै तहसम्म पुर्याउने तयारी नेकपाको छ,’ उनले भने, ‘सरकार र पार्टी दुवै सञ्चालन गरेर देशमा समृद्धिको आधार तयार गर्नु अहिलेको आवश्यकता हो।’  

प्रकाशित: १५ पुस २०७५ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App