coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

फाइल तस्बिर

काठमाडौं - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन्।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उनले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य समाचार पुग्न नसकेकाे औल्याए। उनले भने,'सञ्चार क्षेत्रमा लागेका पत्रकार सत्ता र प्रतिपक्ष हुनु जरुरी छैन। विषयवस्तु र गुण दोष जाँचेर ठिक र बेठिक लेखिदिनुस्, जहाँ जहाँ परे पनि परोस्।भएका कमी कमजोरीबारे लेखिएमा धन्यवाद दिन्छौँ तर सत्यसित कुनै साइनो नभएका समाचार सम्प्रेषण गरिनु निन्दनीय हो। यस्तो नहोस्।'

उपप्रधानमन्त्री पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ तराई दू्रतमार्ग निर्माण जस्ता विषयमा कुनै केन्द्रको आग्रह वा भनाइका आधारमा समाचार नदिई विषयवस्तु बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे। मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भएर सङ्घीय प्रणाली लागू भएको र वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएर सबै तहमा सत्ताको नेतृत्व गरिरहेको स्थितिमा यसलाई सामान्य सरकार परिवर्तनको विषयका रुपमा नलिन आग्रह गर्दै उनले नयाँ चुनौतीको सामना गर्न तथा संविधानका राम्रा कुरा कानून र संरचना बनाएर कार्यान्वयनमा जाने सवालमा सहयोग गर्न आग्रह समेत गरे।

सञ्चार माध्यमलाई सरकार र पार्टी (नेकपा) का तर्फबाट उपलब्ध हुनुपर्ने सूचना र अन्य सहयोगका लागि आफूहरु तयार रहेको पनि उनले स्पष्ट पारे। कार्यक्रममा पत्रकार आचारसंहिता र डिजिटल पत्रकारिताबारे छलफल गरिनुका साथै शाखाको साधारणसभाको बन्द सत्र सञ्चालन हुनेछ । रासस

प्रकाशित: १५ पुस २०७५ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App