१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश ३ : राजधानीको विषय टुंगो लागेन

प्रदेश ३ को प्रदेशसभा बैठकमा सहभागी सांसदहरू। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर - प्रदेश ३ को प्रदेशसभाको बर्खे अधिवेशन बिहीबारबाट सकिने भएको छ। चालु अधिवेशनमा मुख्यमन्त्री डोरमणि पौडेललगायतले स्थायी राजधानी र नामकरण बर्खे अधिवेशनमा गर्ने दाबी गरेको भए पनि नामकरण र राजधानीको टुंगो भने लाग्न सकेन। राजधानीका लागि सहमति प्रयास भइरहेकाले अर्को अधिवेशनमा मात्र सो विषयले टुंगो लगाउने अपेक्षा गरिएको छ।

प्रदेशसभाको अघिल्लो कार्यव्यवस्था परामर्श समितिको बैठकले राजधानीबारे निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको थियो । तर पछि सहमति प्रयास भन्दै प्रस्ताव फिर्ता लिएपछि राजधानीको विषय अनिश्चित भएको छ। राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सभामुख सानुकुमार श्रेष्ठलाई असार २६ गते प्रतिवेदन बुझाएको थियो। तर झन्डै ३ महिनापछि प्रदेशसभा बैठकमा असोज २२ गते पेस गरिएको थियो । प्रतिवेदनअनुसार स्थायी राजधानीका लागि वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरिएका छन्।

चार विधेयक पेस
बुधबारको प्रदेशसभा बैठकमा तीनओटा विधेयक प्रस्तुत गरिएको थियो भने एउटा प्रतिवेदनसहितको विधेयक पेस गरिएको छ। प्रदेश राजधानी हेटौंडास्थित प्रदेशसभा भवनमा बुधबार बसेको ५९ औं बैठकमा विधेयक र प्रतिवेदन पेस भएको हो। प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए।

बर्षे अधिवेशनको प्रदेश सभा बैठकमै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए। त्यस्तै, अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सन्दर्भमा समितिले गरेको निर्णयको प्रतिवेदनसहितको विधेयक सभामा पेस गरेका थिए। बैठकमा विशेष समय र शून्य समय कार्यसूचीबाट हटाइएको थियो।

प्रकाशित: १२ पुस २०७५ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App