८ वैशाख २०८१ शनिबार
राजनीति

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्वारा राजीनामा

काठमाडौं– नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा दिएका छन्। झाको नियुक्तीलाई लिएर सत्तारुढ नेकपा र सरकारबाहिर चर्काे आलोचना भइरहेका बेला बुधवार दिउँसो सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई राजीनामापत्र बुझाएका हुन्। मन्त्री बास्कोटाले झाले राजीनामा दिएको पुष्टि गरे। 

स्रोतका अनुसार सरकारको आलोचना भएको भन्दै मन्त्री बास्कोटाले राजीनामा दिन दबाब दिएपछि झाले राजीनामा दिएका हुन्। केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार आएपछि झा लाई पदमुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध झा अदालत गएका थिए। पछि सरकारले उनलाई पुनर्वहाली गरेपछि चर्काे आलोचना हुँदै आएको थियो। 

यसअघि रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै झाले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका थिए। आफू कुशल, योग्य र कर्तव्यनिष्ठ प्रशासक भएकोले नै बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा प्राधिकरणको अध्यक्षमा नियुक्ती दिएको झाले दाबी गरे। 

वर्तमान सरकारले खुल्ला प्रतिष्पर्धामार्फत उक्त रिक्त पदको लागि विज्ञापन गरेपछि आफूले पनि प्रतिष्पर्धा गरेको र पहिलो नम्बरमा नाम निस्किएको उनले बताए। 

नेकपाको स्थायी समितिको बैठकमा समेत विभिन्न नेताहरुले आफूलाई गलत आरोप लगाएको कुरा मिडियामार्फत बाहिर आएकोमा टिप्पणी गर्दै उनले यसले आफू मर्माहत भएको र खिन्न भएको गुनासो पोखे। उनले यस्तो आरोपले आफ्नो चरित्र हत्या भएको गुनासो पोखे। नेपाल सतिले सरापेको देश भनिएको सुनाउँदै उनले आफ्नो हकमापनि त्यही भएको गुनासो पोखे। 

उनले अल्पसंख्यक वा मधेशी समूदायको भएकै कारणले आफूमाथि यस्तो प्रहार भएको हो कि भनेर अहिले आफू सोच्न पनि बाध्य भएको सुनाए। 

आफूले ग्रामिण क्षेत्रमा बसोबास गर्ने सबैमा ईन्टरनेटको पहुँच पुर्याउनको लागि काम गरेको पनि उनले सुनाए। उनले भने, ‘सबै गाउँमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच स्थापित गर्नको लागि काम गरेको छु। डिजिटल लिटरेसीको कार्यक्रम अघि बढाएको छु।’ 

नेपालको आफ्नै ‘स्याटलाईट’ हुनुपर्छ भनेर सोहीअनुसारको काम पनि आफूले अघि बढाएको झाले जानकारी दिए। नेपाललाई नविनतम प्रविधिबाट बञ्चित गर्नु हुँदैन भनेर ‘फोर–जी’ ल्याएको पनि उनले सुनाए। ‘मोवाईल डिभाईस म्यानेजमेन्ट सिष्टम’ र ‘ईन्टरनेश्नल कल मनिटरिङ’ जस्ता धेरै काम आफूले प्राधिकरणबाट अघि बढाएको उनले फेहरिस्त पेश गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘डिजिटल नेपाल’ को सपना साकार पार्नको लागि आफू अहोरात्र खटिरहेको पनि उनले दाबी गरे।

प्रकाशित: ११ पुस २०७५ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App