१५ चैत्र २०८० बिहीबार
राजनीति

दुई अध्यक्ष हुँदा गाह्राे भएपनि असमझदारी भने छैन : अध्यक्ष दाहाल

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गुटबन्दीको प्रभावमा नयाँ पार्टी रहन नहुने बताएका छन्। जारी स्थायी समिति बैठकमा धारणा राख्दै अध्यक्ष दाहालले पार्टी एकता ऐतिहासिक भएको र एकताका लागि लामो संघर्ष गरेको बताए।

अध्यक्ष दाहालले पार्टीलाई हेर्ने पुरानो नजर परिवर्तन गर्नु पर्ने बताए। अध्यक्ष दाहालले भने "नयाँ पार्टी गुटबन्दीको प्रभावमा रहनु हुन्न भन्ने कुरामा हामी दुवै अध्यक्ष स्पष्ट छौं, हिँजो कसरी चल्यौं भन्ने कुरालाई विर्सेर नयाँ ढंगले  एकतावद्ध भएर बढ्न आवश्यक छ।"

दुई अध्यक्ष प्रणाली नौलौ भएपनि आफुहरु आपसी सहयोगका साथ एकवद्ध भएर अगाडी बढेको उनले बताए। प्रधानमन्त्रीलाई सघाउनु आफ्नो जिम्मेवारी भएको बताउँदै उनले प्रधानमन्त्री ओलीसँग कुनै कुरामा पनि असमझदारी नरहेको स्पष्ट पारे। उनले भने "हामी दुई अध्यक्ष छौं, एकताको मर्म र भावना अनुसार हामी दुई अध्यक्ष चल्नुपर्छ। दुईवटा अध्यक्ष हुँदा केही सजिलाे र केही असहजिलाे पक्कै पनि महशुस भएका छन्। तर हामीबीच कुनै पनि असमझदारी छैन। असमझदारी नआओस् भन्नेमा म सचेत छु।" 

अध्यक्ष दाहालले पार्टी र सरकारलाई सफल बनाउन जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताए। अध्यक्ष दाहालले सङ्गठन सुदृढिकरणका लागि एउटा कार्यदल गठन गरी अघि बढ्न सकिने विचार व्यक्त गरेका थिए। मङ्सिर २९ देखि सुरु भएको नेकपा स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज विहान ८ः३५ बजे आरम्भ भएर १०ः३५ बजेसम्म सञ्चालन भयो। आजको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन उपरको छलफलमा बैठकमा व्यक्त विचारहरुका सम्बन्धमा जवाफ दिएका थिए। 

 

प्रकाशित: ११ पुस २०७५ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App