७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वराजालाई ओलीको चेतावनीः लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्प कोही नभएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिको सांकेतिक विरोध गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति नभएको जिकिर गरे। ‘अहिले कोही कोही देश दौडाहा, तिर्थ र श्राद्धमा गएका छन्’, पूर्वराजाको पोखरा भ्रमणतर्फ संकेत गर्दै ओलीले भने, ‘अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन्। हामी उपलब्धि गुम्न दिँदैनौं।’

उनले विगतमा पनि लोकतन्त्र सिध्याउने षडयन्त्र हुँदा त्यसलाई असफल पारेर आएको बताउँदै अब पनि सफल नहुने ठोकुवा गरे। लोकतान्त्रिक व्यवस्थामा कुल घरानाका मान्छेहरु छटपटाएको भन्दै ओलीले नेपाली जनताले कुल घरानाको शासक होइन सेवक खोजेको बताए। ‘अहिले कतिपय मान्छेलाई खान्दान र कुल घरानाको चिन्ता छ’, नेपाल इन्जिनियर्स एशोसियशनका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनताको निम्ति काम गरौं। कुल घराना वा नघरानाबाट जो पनि आउन सक्छ।’ यद्यपी कुल घरानामा सबै गलत नहुने उनको भनाई छ। 

कुल घरानाका मान्छेले अहिलेका नेताहरु हिजो कस्तो हालतमा थिए, आज कुन हैसियतमा छन भनेर टिप्पणी गर्ने गरेको बताउँदै ओलीले भने, ‘हिजो मै जेलभित्र नेलमा थिए। खाली खुट्टामा चिसो छडिमा राखेका थिए। आज जुत्ता लगाएको छु। ति जेल हाल्ने कुल घरानाका मान्छेलाई भतभती पोलेको छ। प्रधानमन्त्री हुँ, एकजोर जुत्ता त लगाउन सक्छु।’

अहिले राजतन्त्रात्मक होइन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था देशमा रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले कुनै क्षेत्रलाई पनि संकुचन नगरेको दाबी गरे। ‘यो सबै अफवाह हो। यो सरकार मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रताको पक्षधर हो, कुनै संकुचन हुँदैन्।’

‘चीनसँग नजिकिनु भारतविरुद्ध होइन’

प्रधानमन्त्री ओलीले नेपालले चीनसँग सम्बन्ध बढाउनु भारतविरुद्ध नभएको स्पष्ट पारे। ‘नेपाल एउटा देश वेष्ठित राष्ट्र होइन, अरुसँग बाटो खोल्नुपर्छ, ट्रान्सपोर्टमा सम्पर्क बढाउनुपर्छ। मैले चीनसँग पारवहन सम्झौता गरे। अहिले त प्रोटोकल समेत भइसकेको छ’, उनले भने, ‘मैले बोलेको, सम्झौता गरेको कसैको विरुद्ध होइन। नेपालको पक्षमा हो।’  

‘दुई वर्षभित्र काठमाडौं फरक लुक्समा’

प्रधानमन्त्री ओलीले अबको दुई वर्षभित्र काठमाडौंलाई फरक लुक्समा देख्न पाइने बताए। अहिले नै सहर धेरै फरक भइसकेको जिकिर गर्दै उनले भने, ‘हामी मास्क लगाउन नपर्ने काठमाडौं बनाउँछौं। २ वर्षमा फरक लुक्समा देख्न पाउनुहुन्छ। यो रातारात, एकैछिनमा हुँदैन्।’ उनले अब विकास निर्माणका काम दीर्घकालिन हुने पनि स्पष्ट पारे। सन् २०१९ अचम्मको वर्ष हुने र २०२० मा झन अचम्म हुने तर्क गर्दै ओली भने, ‘२०१८ मै १० लाख पर्यटक आइसकेका छन्। २०२० सम्ममा २० लाखलाई स्वागत गर्ने लक्ष्य हो, लक्ष्यभन्दा बढी आउँछन्।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई इतिहासमै पहिलोपटक ‘इतिहास झल्किने र आधुनिकता टल्किने’ गरी बुटिक एयरपोर्ट बनाउन लागेको उनले जानकारी दिए। ‘वैशाख १ बाट एयरपोर्टमा नेपाली धुन बज्छ, ग्रीन टि ले स्वागत गर्छाैं। नेपाल के हो भन्ने कुरा पर्यटकले थाहा पाउँछन्’, ओलीले भने। 

आगामी १० वर्ष नेपालको कायाकल्प वर्ष हुने भन्दै ओलीले ५ वर्षभित्र त्यसको विश्वसनीय आधार निर्माण गरिने बताए। ‘समय गाल्ने र कार्यकाल पुरा गर्नेमा हामी छैनौं। रातदिन विकासको काममा छौं, समृद्ध नेपाल सुखी नेपाली बनाएरै छाड्छौं’, ओलीले भने। यो अभियानमा सहभागी हुन उनले सार्वजनिक आह्वान समेत गरे। 

‘इन्जिनियर उत्पादन गर्न स्टाफ कलेज’

प्रधानमन्त्री ओलीले दक्ष इन्जिनियर उत्पादन गर्न तालिम केन्द्र र स्टाफ कलेज खोल्ने घोषणा गरे। इन्जिनियरलाई आवश्यक परिचालन गर्न योजना आयोग र शिक्षा मन्त्रालयको कार्यदल समेत गठन गरिएको र यसले कुन क्षेत्र कस्तो इन्जिनियर चाहिन्छ, यस क्षेत्रको पढाई र अभ्यास कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए। उनले इन्जिनियरको न्युनतम पारिश्रमिक पनि निर्धारण गरिने स्पष्ट पारे। राष्ट्रनिर्माणको महाअभियानमा इन्जिनियरको भूमिका महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको बाहकको रुपमा इन्जिनियर लाग्नुपर्नेमा जोड दिए। इन्जिनियरहरु आफ्नो काम समयमा, गुणस्तरीय र प्रचलित लागतमा सम्पन्न गर्ने विषयमा गम्भीर बन्नुपर्नेतर्फ ध्यानाकर्षण गराए।

‘अब कुनै दिन जित्नेछौं होइन जितिसक्यौं’

कार्यक्रममा प्रोग्रेसिभ इन्जिनियर्स एशोसियशन (पिन)बाट नेपाल इन्जिनियर्स एशोसियशनमा निर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले अमेरिकन गायकको चर्चित गीत ‘वी स्याल ओभर कम सम डे’लाई सम्झिए। अब कुनै दिन जित्नेछौं भन्ने अर्थ रहेको यो गीतलाई पटक पटक उच्चारण गरेका ओलीले आफूहरुले जितिसकेको र त्यो गीत इतिहास भएको जिकिर गरे। ‘इन्जिनियर्स एशोसियशनमा हारेका थियौं, हेपिएका थियौं’, ओलीले भने, ‘मैले चुनाव अघि लेफ्टले जिते भन्ने सुन्ने बानी बसाल भनेको थिएँ। हामीले जित्यौं, अब जितिरहन्छौं।’ उनले यो जीतलाई दम्भका रुपमा नभई जिम्मेवारीका रुपमा लिन र पराजित भएका इन्जिनियरलाई पनि सँगै लिएर अघि बढ्न सुझाव दिए।

कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भूमिसुधार मन्त्री पदमा अर्याल, नेकपा नेतृ पम्फा भुसालले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए।

इन्जिनियर्स एशोसियशनको भर्खरै सम्पन्न ३२ औं कार्यकारिणी समितिको चुनावमा प्राडा त्रिरत्न बज्राचार्य नेतृत्वको प्रगतिशील समूह विजयी भएको थियो। नेतृत्वमा प्रगतिशील समूहको यो पहिलो जित हो। 

प्रकाशित: ६ पुस २०७५ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App