७ वैशाख २०८१ शुक्रबार
राजनीति

बैठकबाट सही निष्कर्ष आउने दाहालको दाबी

चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी स्थायी कमिटीको तेस्रो बैठकबाट उचित निष्कर्षसहित नयाँ अभियान अगाडि सारिने बताएका छन्। पार्टी अगाडि बढाउन खुलेर छलफल गरिएको उनले बताए। पार्टीको बैठकमा भएका तितामिठा कुरा बाहिर आएजस्तो भने नरहेको उनले दाबी गरे।

भरतपुर महानगरपालिका वडा नम्बर ६ को पारसनगरमा रहेको सहिद स्मृति माविको स्वर्ण महोत्सवको अवसरमा आयोजित धनधान्याञ्चल ज्ञान महायज्ञको बिहीबार उद्घाटन गर्दै अध्यक्ष दाहालले स्थायी कमिटी बैठक सौहार्दपूर्णरूपमा अघि बढिरहेको दाबी गरे। बैठक बाहिर चर्चामा आए जस्तो विवाद नभई खुलेर छलफल गरिएको उनले बताए। ‘बैठकमा असाध्यै राम्रो छलफलका साथ अगाडि बढेका छौं,’ उनले भने, ‘खुलेर गरिएको छलफलबाट नयाँ अभियान लिएर पार्टी अघि बढ्ने छ।’ बैठकपछि सकारात्मक निष्कर्षसहित पार्टी अगाडि आउने विश्वाससमेत उनले व्यक्ति गरे। पार्टीले सञ्चालन गर्ने देश समृद्ध बनाउने अभियानमा सबै दललाई सहभागी हुनसमेत उनले आग्रह गरे।

सामुदायिक विद्यालय खस्किँदैं जाने र निजी विद्यालय फस्टाउँदै जाने गरेको पाइए पनि पछिल्ला वर्षमा सामुदायिक विद्यालय खरो प्रतिस्पर्धामा उत्रिएको अध्यक्ष दाहालको भनाइ थियो। शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न पार्टी र सरकार प्रतिबद्ध रहेको समेत उनले बताए। ‘विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने नभई रोजगार पैदा गर्ने होस्’ उनले भने, ‘प्राविधिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिँदै जाने, सैद्धान्तिक र सामान्य शिक्षाको मात्रालाई घटाउँदै जानेछौं।’ नेपालको शिक्षा नीतिलाई जीवन उपयोगी र वैज्ञानिक बनाउने र समृद्धिको महाअभियानमा सहयोगी हुने जनशक्ति सिर्जना गर्ने शिक्षा नीति अबलम्बन गरिएको उनले बताए।

चितवनो जनप्रतिनिधि भएकाले जिल्लाको विकास निर्माणमा समेत आफू प्रतिबद्ध रहेको उनले बताए। जिल्लामा रिङ रोड, क्रिकेट मैदान र सिटी हल निर्माण प्रक्रिया अघि बढाइएको उनी बताउँछन्। आउने चार वर्षमा चितवनका कुनै पनि बाटोलाई धुलोमैलो नराखिने प्रतिबद्धतामा आफू कायम रहेको उनले दोहो-याए। पार्टीप्रति र जिल्लाप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने उनले दाबी गरे ।

सहिद स्मृति माबिले स्वर्ण महोत्सवको अवसरमा गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार निर्माणका लागि महायज्ञ सुरु गरेको हो। विद्यालयमा कक्षा ११/१२ र प्राविधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गरेको हो। यज्ञमा भागवत पुराण तथा कथा वाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्ने छन्। ४ करोड ५० लाख आर्थिक संकलनको लक्ष्य राखिएको छ ।

प्रकाशित: ६ पुस २०७५ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App