६ वैशाख २०८१ बिहीबार
राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिका- अमेरिकी विदेश मन्त्रालयको निमन्त्रणमा अमेरिका आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेट भएको छ। परराष्ट्रमन्त्री ज्ञावाली र अमेरिकी विदेशमन्त्री माईकल रिचार्ड पाम्पियोबीच स्टेट डिपार्टमेन्टमा भेटवार्ता भएको हो। लामो समयको अन्तरालमा भएको औपचारिकरुपमा भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध, आर्थिक सहयोगको समीक्षा, पाईपलाईनमा रहेको सहयोगको कार्यन्वयनको अवस्थाका बारेमा छलफल भएको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले बताए। नेपाल र अमेरिकाबीच लामो समयपछि परराष्ट्रमन्त्री स्तरीय औपचारिक छलफल र समीक्षा भएकोले पनि यो भेटवार्ता निकै महत्वपुर्ण भएको र दुईदेशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको अमेरिकाका लागि नेपाली राजदूत कार्कीले भने।

भेटवार्ताका क्रममा परराष्टमन्त्री ज्ञवालीले नेपालको वर्तमान सरकारको प्राथमिकता परराष्टट्र नीति, नेपालको शान्तिप्रक्रिया, सविधान कार्यन्वयनको अवस्था, अमेरिकी सहयोगको अवस्था र विकासको विषयमा जानकारी गराएका थिए। दुई पक्षीय भेटघाटमा मिलिनियम च्यालेन्ज कोअप्रेसनको कार्यान्वयनको अवस्थाका र अन्य विविध पक्षका बारेमा अमेरिकी विदेशमन्त्री पाम्पियोले चासो प्रकट गरेका थिए। भेटघाटमा दुईदेशबीच भैरहेको र हुन सक्ने व्यापार सहकार्यका विषयमा पनि छलफल केन्द्रित रहेको थियो।

नेपाल र अमेरिकाबीच परराष्ट्रमन्त्री स्तरमा सन् २००२ जनवरीमा काठमाडौंमा भएको औपचारिक भेट भएको थियो। त्यस बीचमा केहि छलफलहरु उच्च कर्मचारी तथा राजदूतस्तरमा मात्र छलफल हुँदै आएको थियो।

अमेरिकाले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) मार्फत ५० अर्बभन्दा बढी नेपाली रूपैयाँ अनुदान सहयोग गर्दै आएको छ। मुलत अमेरिकाले त्यसको कार्यन्वयनको चरणको बारेमा चासो प्रकट गरेको बताईन्छ। अघिल्लो सरकारको पालामा शुरु भएको यस सहयोगको काम शुरु भैसकेको छ।

प्रकाशित: ४ पुस २०७५ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App