१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टविरुद्ध उजुरी, जुनसुकै बेला पक्राउ पर्नसक्ने

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी अधिकारीविरुद्ध किटानी जाहेरी परेको छ। 

निर्मलाकी आमा दुर्गादेवी पन्त, दिलीप विष्टका दाई खड्ग विष्टले मंगलबार बर्खास्तीमा परेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्ट तथा निलम्बनमा रहेका सिआइबीका डिएसपी अंगुर जिसी र तत्कालिन कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर सेठी लगायतविरुद्ध सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत कारवाहीको माग गर्दै जाहेरी दिएका हुन्। 

जाहेरीमा दोषी जोगाउने उद्देश्यले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर यातना दिएकाले एसपी विष्टसहित प्रारम्भिक अनुसन्धानमा संलग्न सम्पूर्ण प्रहरी अधिकारीलाई कारवाहीको माग गरिएको छ। 

यसबारे प्रहरी प्रवक्ता उत्तम सुवेदीले एसपी विष्टसहित प्रहरी अधिकारीविरुद्ध किटानी जाहेरी आएको पुष्टि गर्दै उजुरी कानुनसम्मत भए कारवाही अघि बढाइने बताए। ‘उजुरी कानुन सम्मत छ भने सरकारी वकिलसँग परामर्श गरेर प्रारम्भिक अनुसन्धानमा संलग्न जुनसुकै प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्छाैं’, उनले स्पष्ट पारे।

कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले निर्मलाकी आमाले जाहेरी दिएको र यसलाई कसरी अगाडि बढाउने भन्नेबारे परामर्श भइरहेको बताए। 

निर्मला हत्या प्रकरणमा यसअघि सरकारले एसपी विष्ट र इन्सपेक्टर भट्टलाई लापरवाही गरेको भन्दै कात्तिक ८ गते भविष्यमा सरकारी सेवामा आयोग्य ठहर हुनेगरी बर्खास्त गरेको थियो। अब निर्मलाकी आमाको किटानी जाहेरी अघि बढे उनीहरु अनुसन्धानमा तानिन सक्छन्। 

प्रकाशित: ३ पुस २०७५ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App