१५ चैत्र २०८० बिहीबार
राजनीति

एमाले नेता महासेठविरुद्ध पार्टीमा उजुरी

काठमाडौं– नेकपा स्थायी समिति सदस्य एवं यातायात, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठविरुद्ध पार्टीमा उजुरी परेको छ। पार्टी केन्द्रीय सदस्य श्रीप्रसाद साहले स्थायी कमिटी सदस्यमा महासेठको मनोनयन विधानविपरित भएको भन्दै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलसमक्ष उजुरी दिएका हुन्। स्थायी कमिटी बैठक चलिरहेकै बेला महासेठको मनोनयनप्रति प्रश्न उठाउँदै उजुरी गरिएको हो।

उजुरीमा केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटीमा महासेठलाई गरेको मनोनयन खारेजीको माग छ। नेकपा अन्तरिम विधान २०७५ को धारा ३४ (ख) अनुसार केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तीमा एक कार्यकाल पोलिटब्युरो सदस्य भई वर्तमान केन्द्रीय कमिटी सदस्य हुनुपर्ने उल्लेख छ। तर नेता महासेठ हालसम्म पार्टीको पोलिटब्युरो सदस्य नभएको भन्दै साहले उनको मनोनयन विधानविपरीत भन्दै बदर गर्न माग गरेका छन्। ‘कमरेड रघुवीर महासेठसमक्ष अनेकन अलौकिक दक्षता होलान् तर स्थायी कमिटी सदस्य हुन चाहिने न्यूनतम योग्यता छैन किनकि उहाँ २०५४ मा तत्कालीन नेकपा एमालेको विभाजनपछि गठित नेकपा मालेको वैकल्पिक केन्द्रीय सदस्य र पूर्ण सदस्य हुँदै पार्टी पुनः एकीकरण हुँदा केन्द्रीय उद्योग व्यवसाय विभागको सदस्य हुनुभयो’, उजुरी पत्रमा लेखिएको छ।
उजुरी अनुसार २०५९ सालमा जनकपुरमा भएको पार्टीको सातौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका उनले कही समयपछि केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए। २०७१ सालमा काठमाडौंमा भएको त्यस्तै तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका महासेठ एमालेको २०७४ सालमा सञ्चालित मेची महाकाली अभियानको पूर्वसन्ध्यामा झापा स्थायी कमिटी बैठकबाट मनोनीत २१ जना तराई मधेसका अगुवामध्ये एक हुन्। एमाले र माओवादीको एकीरणपछि उनी स्थायी कमिटीमा मनोनयनमा परेका थिए।

प्रकाशित: २ पुस २०७५ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App