६ वैशाख २०८१ बिहीबार
राजनीति

आफूलाई बघिनीको संज्ञा दिँदै ओेलीले भने, दुस्प्रचारविरुद्ध प्रतिकार गर्नु मेरो धर्म हो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिँडिरहेको बताएका छन्। पूर्व नेकपा (एमाले) निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी महासंघ (पिपिएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशील कानुन व्यवसायी संघ (आरपिएलए) को एकीकरणलाई  आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सफलतातर्फ अघि बढीरहेको सरकारकाविरुद्ध अनेक किसिमका दुस्प्रचार गरिएको बताए।

‘हामी अहिले असाधारण सफलताको बिन्दुमा छौं’, ओलीले भने,‘तर यो सफलताविरुद्ध भयानक प्रचार युद्ध सञ्चालनमा छ। त्यसलाई परास्त गर्नुपर्दछ।’ जनताको अभिमतबाट बहुमत प्रतिनिधिले अनुमोदन गरेर बनाएको सरकार केही केहीलाई प्रिय नलाग्ने भएपनि यसले आम जनताको हितमा नै काम गर्ने ओलीको भनाई थियो।

‘प्रचार युद्धमा गणतन्त्रका धरोहरहरूलाई आक्रमण गरिएको छ। राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार छ’, ओलीले भने, ‘यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रीत छ।’ गणतन्त्रको दुस्प्रचारविरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको ओलीको भनाइ छ।

‘जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तबसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठूलो भिड भएपनि प्रतिकारमा उत्रन्छे। यो उसको धर्म नै हो’, ओलीले भने, ‘कम्युनिष्ट आन्दोलन, नेकपा र सरकारविरुद्ध हमला गर्नेहरूले यो कुरा हेक्का राख्नुपर्दछ।’

दुई संगठनको एकिकरणबाट नेपाल कानुन व्यावसायी संगठन (एनएलए) को गठन गरिएको छ। संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणी पोख्रेल सहित ४५ सदस्यीय समिति चयन  भएको छ।

प्रकाशित: १ पुस २०७५ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App